सहिद कृष्ण महायज्ञमा २८ लाख रुपैया संकलन

तनहुँ , १८ फागुन
सहिद कृष्ण माविको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित श्रीमद् भागवत् धनधान्याञ्ज विराट शैक्षिक ज्ञान महायज्ञमा २८ लाख रुपैया संकलन भएको छ ।  शुक्रवार उद्घाटन मात्र भएको महायज्ञमा शनिवारबाट दान संकलन शुरु भएको हो ।

दोस्रो दिन २८ लाख ३१ हजार ३ सय रुपैया संकलन भएको आर्थिक तथा दान उत्प्रेरक उपसमिति संयोजक गजेन्द्र पौडेलले जानकारी दिए । शुक्लागण्डकी–३ कवासेस्थित विद्यालय प्राङ्गणमा भएको महायज्ञमा वडा कार्यालयले २५ लाख रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।  यसैगरी शुनपा–३ निवासी लालप्रसाद गर्तौलाले १ लाख ५ हजार, राम बहादुर खत्रीले ५१ हजार १ सय ११ रुपैया प्रदान गरे । सो विद्यालय सहिद कृष्ण प्रसाद पौडेलको सम्झनामा वि.स. २०५१ सालमा स्थापना भएको हो ।  संकलित रकम समयसापेक्ष प्राविधिक शिक्षा, अन्तराष्ट्रिय भाषा शिक्षणको कक्षा सञ्चालन र भौतिक गुणस्तर वृद्धिमा खर्चिने विद्यालयका प्रधानाध्यापक भुला प्रसाद भण्डारीले जानकारी दिए । उनले महायज्ञपछि कक्षा १२ सम्म अध्यापन गरिने जानकारी दिए ।

भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा शुरु महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान, दैनिक योग शिविर समावेश गरिएको प्रवक्ता परशुराम भण्डारीले जानकारी दिए । महायज्ञको शुक्रवार पूर्व मन्त्री एवम् प्रदेश सांसद आशा कोइरालाले उदुघाटन गरेकी थिइन् ।

You might also like

Comments are closed.