आर्थिक आवाज
पोखरा, ८ माघ । सांसद बापतको तलब भत्ता सामाजिक कार्यमा खर्चिने होडमा गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी पनि थपिएका छन् । आफ्नो सम्पूर्ण तलब भत्ता आफ्नो क्षेत्रको विकास र सामाजिक कार्यमा खर्चिने कास्की क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश सांसद राजिव पहारी पछि दवाडी पनि सो लिष्टमा थपिएका हुन् ।
गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले हालसम्म आफूले प्राप्त गरेको प्रदेश सांसद बापतको सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्र र सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।
गोर्खा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद दवाडीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै आफूले प्रदेश सांसदको सफत लिँदा आफूले सांसदका रुपमा पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेअनुसार नै हालसम्म प्राप्त सम्पूर्ण तलब भत्ता बापतको रकम सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका हुन् । उनले हालसम्म प्रदेश सांसद बापत ७ लाख ३० हजार ३ सय १५ रुपैयाँ प्राप्त गरेको जानकारी दिदै सो रकममा ४ लाख ९० हजार ९ सय ५ रुपैयाँ थपेर कुल १२ लाख २१ हजार २ सय २० रुपैयाँ र ८० वटा कुर्सी आफ्नो निर्वाचनमा सहयोग गरेको बताए ।
प्रदेश सांसद दवाडीले विभिन्न आमा समूह, सामुदायिक प्रहरी, युवा क्लव, विद्यालय, तातोपानी संरक्षणलगायतलाई सहयोग गरेको बताए । उनले रकमबाहेक श्रीनाथकोट महिला समूहलाई कुर्सीसमेत सहयोग गरेको जानकारी दिए । सांसद दवाडीले आगामी दिनमा पनि आफ्नो सम्पूर्ण तलव, भत्ता सामाजिक काम तथा विकास निर्माणमा वितरण गर्ने प्रतिबद्धता जनाए ।