सांसद पहारीको सबै तलब सामाजिक कार्यमा

आर्थिक आवाज

पोखरा, २१ पुस । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्चिएका छन् । प्रदेश सांसद पहारीले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वापतको ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको भन्दै त्यसको विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चलिरहँदा सांसद पहारीले भने आफूले राज्यबाट सांसदबाट पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेका हुन् । सांसद पहारीले ११ महिनामा आफूले सांसद बापत प्राप्त गर्ने मध्ये प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको उनले जानकारी दिए ।

पहारी गत वर्ष सम्पन्न प्रदेश सभाको चुनावमा तत्कालिन बाम गठवन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित भएका थिए ।पहारीले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, वलात्कारपछी हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार मूल्य बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए । उनले पत्रकार महासंघ कास्कीलाईसमेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।

त्यस्तै, पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे । सांसद पहारीले फेवाताल संरक्षणका लागि वडा विकास समितिलाई ८० हजार र विभिन्न आमा समूहलाई ४० हजार सहयोग गरेको जानकारी दिए ।

सांसद पहारीले आफूले चुनावताका घोषणा गरेको प्रतिबद्धता अनुरुप सम्पूर्ण तलव सामाजिक कार्यमा खर्च गरेको बताए । उनले आगामी दिनमा पनि आफूले प्राप्त गर्ने सम्पूर्ण तलब सामाजिक कार्यमै खर्चिने घोषणा गरे । सरकारी विद्यालयमा आधुनिककता भित्रिनेगरी पूर्वाधार भएपनि स्वच्छ पिउने पानीको अभावमा विद्यार्र्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले युरोगार्ड प्रदान गरेको सांसद पहारीले प्रष्ट्याए ।

You might also like

Comments are closed.