सांसद सूर्यबहादुर केसीद्वारा मानव सेवा आश्रमलाई सहयोग

पोखरा ।

प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम, पोखरालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण कारण नेपालमा समेत यतिखेर लकडाउन जारी रहेकोमा समाजसेवी एवं उद्योगपति समेत रहेका केसीले संस्थाका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई शनिबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उनले यसअघि पनि आश्रमलाई ३ लाख रुपैयाँ सहयोग गरिसकेका थिए । विपत्मा दुःखी गरीबलाई सहयोग गर्नु आफैमा पुण्य कर्म भएकोले लकडाउनमा पनि सानो भए पनि सहयोग गरिएको केसीले बताए ।

मानसिक सन्तुलन गुमाएका, सडक पेटीमा बस्नेहरु, परिवारबाट अपहेलित तथा असहायहरुको निम्ति आश्रयस्थल बन्दै आएको मानव सेवा आश्रमले पोखराको छोरेपाटनमा २ वर्षअघि शाखा संचालन गरेको हो । आश्रमले हालै हेमजामा पनि शाखा संचालन गरेको छ । दुवै शाखामा १ सय ११ जना आश्रित छन् ।

आश्रम संचालनपछि पोखरा क्षेत्रका ३ सय जनालाई सडकबाट उद्धार गरिएकोमा तीमध्ये १ सय २५ जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको आश्रमका गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लकडाउनकै समयमा ९ जना मानिसलाई उद्धार गरी आश्रम लगिएको छ ।

You might also like

Comments are closed.