पोखरा, २८ जेठ
पोखरेलीले अबको साढे ३ वर्षपछि शुद्ध खानेपानी पिउन पाउने भएका छन् । जापानी संस्था जाइकाको अनुदानमा ‘पोखरा खानेपानी सुधार आयोजना’ निर्माण हुने भएपछि पोखरेलीले अबको साढे ३ वर्षमै शुद्ध खानेपानी पिउन पाउने भएका हुन् । आयोजनाको शनिबार खानेपानी मन्त्री बिना मगर र नेपालका लागि जापानी राजदुत मासामिची साइगोले संयुक्त रुपमा शिलान्यास गरे ।
जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका)ले ४ अर्ब ८१ करोड ३० लाख जापानी यानको लागतमा पोखरा खानेपानी सुधार आयोजना निर्माण गर्न लागेको हो । यो मेलम्ची खानेपानी आयोजना पछिको नेपालकै दोश्रो ठूलो खानेपानी आयोजना हो । पोखरा खानेपानी सुधार आयोजना सन २०२२ डिसेम्बर ३१ तारिखसम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।
पोखरा खानेपानी आयोजना निर्माणको जिम्मा जापानको हाज्मा एन्दो कर्पोरेसनले लिएको छ । १४० रोपनी क्षेत्रफलमा निर्माण गरिने पोखरा खानेपानी आयोजनाका लागि सफा पानी ट्याङ्की ९३० घन मिटरका २ वटा, पानी छान्ने फिल्टर ४.१ करोड लिटरका ६ वटा र क्लोरिनेसन प्लान्ट हेमजा उत्तरतर्फ रहेको याम्दी खोलापारि पोखरा महानगरपालिका वडा नम्बर १९ मा निर्माण गरिने भएको छ । त्यस्तै पानी थिग्र¥याउने ट्याङ्की ४.१ करोड लिटरका ४ वटा, बालुवा हटाउने ट्याङ्की ४.१ करोड लिटरका २ वटा मर्दी मुहान नजिकै निर्माण गरिने जनाइएको छ ।
खानेपानी आयोजना अन्तर्गत पानी वितरणका लागि पोखरा ५ प्रस्याङ, पोखरा ११ फूलबारी र पोखरा १५ कोलपाटनमा २०÷२० लाख लिटर क्षमताको पानी पोखरी निर्माण गरिने सम्झौतामा उल्लेख छ । पानी वितरणका लागि ११३ किलोमिटर ट्रान्समिसन पाइपलाइन बिस्तार गरिने जनाइएको छ ।
पानी शुद्धीकरणका लागि आवश्यक पर्ने मिनी एक्साभेटर, फाइप÷मेटल डिटेक्टर, मल्टिपल फोटोमिटर, पि.एच.÷इलेक्ट्रिकल कन्डक्टिभिटी÷कुल घुलित पदार्थ जाँचक, धमिलोपन÷क्लोरिन मापक र घुलित अक्सिजन मापक मेसिनरी सामानहरुपनि राखिने जनाइएको छ ।
यो खानेपानी आयोजना निर्माण भएपछि पोखरेलीले शुद्ध खानेपानी पिउन पाउने अपेक्षा गरिएको छ । पानी शुद्धिकरण नहुँदा हाल पोखरेलीले वर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता छ । खोलाको पानी शुद्धिकरण नगरी पोखरामा वितरण हुने पानीमा ८० प्रतिशत कोलिफार्म भेटिएको तथ्याङ्क केहि महिना अघी सार्वजनिक भएको थियो । यो आयोजना सम्पन्न भएपछि भने पोखरेलीले मिनरल वाटरझै धाराबाटै सिधै पानी पिउन मिल्ने दाबी गरिएको छ । पोखरा आउने पानी शुद्धिकरण मात्रै होइन–नेपाल खानेपानी संस्थानका अध्यक्ष जिउलाल चौधरीले भने,‘पोखरा आउने पानीको क्षमता पनि बिस्तार हुनेछ, जसले गर्दा पाखरेली सम्पूर्णलाई खानेपानीको पहुँच बिस्तार गर्छ ।’
आयोजना सम्पन्न भएमा पोखराका वडा नम्बर १ देखि १९ वडासम्मका पोखराबासी लाभान्वित हुनेछन् भने त्यसपछि नियमित रुपमा सातै दिन चौविसै घण्टा पानी आउने दाबी गरिएको छ । हाल पोखरामा २१ प्रतिशत क्षेत्रमा सातै दिन, ५६ प्रतिशत क्षेत्रमा सातामा ३ देखि ४ दिन र २३ प्रतिशत क्षेत्रमा सातामा १ दिनमात्रै पानी वितरण हुँदै आएको छ । पोखरामा हाल दैनिक ४ करोड लिटर पानी पोखरामा खपत हुनेगरेको छ ।
आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनापछिको नेपालकै दोश्रो ठूलो खानेपानी योजना बन्न लागेको भन्दै यो निर्माण पछि पोखरेलीले शुद्ध खानेपानी पिउन पाउने बताईन् । उनले पोखरा खानेपानी आयोजना विगतका दिनहरुमा जस्तो ढिलासुस्ती नभई समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले भनिन्,‘यो प्रोजेक्ट पोखरेलीको जीवन र स्वास्थ्यसँगपनि जोडिएको कुरा पनि हो ।’ उनले प्रशोधित शुद्ध खानेपानी र सरसफाई संविधानले नै मौलिक अधिकारमा राखेको भन्दै यसलाई सबै नेपालीको पहुँचमा पु¥याउन प्रयास भइरहेको उल्लेख गरिन् । शुद्ध प्रशोधित खानेपानी खुवाउने कुरा मात्र पानी खुवाउने भन्ने मात्र होइन–उनले भनिन्,‘यो त रोगबाट बचाउने कुरा पनि हो, स्वस्थ नागरिक उत्पादन गर्ने कुरापनि हो ।’ उनले पहुँचविहिन् जनताको पहुँचमा शुद्ध र प्रशोधित पानी पु¥याउने, आधारभूत खानेपानी पु¥याउनका लागि योजनाबद्ध ढंगले मन्त्रालयले काम गरिरहेको बताईन् ।
नेपालका लागि जापानी राजदुत मासामिचो साइगोले पोखरा र जापानको कोमागाने सहरबीच भगिनी सम्बन्ध रहेको स्मरण गर्दै यसले दुई देश बिचको सम्बन्ध प्रगाढ बनाएको बताए । उनले पोखरेलीलाई शुद्ध खानेपानी खुवाउन जाइकाले गरेको प्रयास सराहनीय रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखरा खानेपानी आयोजना निर्माणपछि पोखरेलीले धाराबाट सिधै पानी पिउनसक्ने वातावरण बन्ने बताए ।
प्रदेश सांसद रामजी बराल जीवनले खानेपानी आयोजना निर्माण गर्न पाउँदा अत्यन्त हर्षित भएको भन्दै अब इदी र मर्दी खोलामा बाँध बाँध्ने र मर्दीखोलामा पुल हाल्ने काम बाँकी रहेको भन्दै यसका लागि प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा खानेपानी आयोजना निर्माणसँगै खुशी र चिन्ता सँगसँगै थपिएको बताए । मुहानदेखि चुहानसम्म पानी फोहोर हुनेगरेको भन्दै उनले भने,‘मुहानमा पानी ट्याङ्की बनाउने, शुद्धिकरण गर्नेसँगसँगै पोखरामा पानी वितरण हुने पाइपलाइनपनि बिस्तार गर्नुपर्छ ।’
जाइकाको नेपाल प्रमुख युमिको आशाकुमाले आयोजना समयमै निर्माण सम्पन्न गरेर पोखरेलीलाई तोकिएकै मितिमा शुद्ध पानी खुवाउने प्रतिबद्धता जनाइन् ।
प्रदेश सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, राप्रपा अध्यक्ष डा.महेन्द्रबहादुर कार्की, समाजवादी पार्टीका अध्यक्ष गिरीबहादुर गुरुङलगायतले खानेपानी आयोजना निर्बाध रुपमा निर्माण गर्नुपर्नेमा जोड दिदै स्थानियका समस्या र उनीहरुको मागकोपनि सुनुवाई गर्नुपर्नेमा जोड दिएका थिए ।
Comments are closed.