साधारणसभाको तयारीमा लेखनाथ उवासंघ, प्रजिअ ढकाललाई स्वागत तथा सम्मान

लेखनाथ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई मंगलबार एक कार्यक्रमबीच लेखनाथ उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । कोरोना भाइरसका कारण लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो २४औं वार्षिक साधारण सभा नयाँ तरिकाले गर्न लागेको छ ।

साधारणसभाकै सन्दर्भमा विभिन्न उपसमितिको बैठकमा उपस्थित भएका ढकाललाई संघले स्वागत तथा सम्मान गरेको हो । सो अवसरमा ब्यवसायीहरुका समस्या र यस क्षेत्रको वस्तुस्थितिका बारेमा समेत प्रमुख जिल्ला अधिकारी ढकाललाई जानकारी गराइएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगी व्यवसायीले उत्पादन, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगारी दिन सक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सरकारी नीति तथा नियममा रहेर सञ्चालन भएका व्यवसायले राज्यलाई पनि सहयोग गरेको प्रसंग उठाउँदै राज्यले पनि ब्यवसायीको हकहितमा काम गर्नुपर्ने बताए ।

संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बावुराम गिरी र महासचिव गोपिचन्द्र वास्तोला लगायतले संघको स्थापना कालदेखि सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भुमिकाको बारेमा जानकारी गराएका थिए ।

संघको २४औं साधारण सभाको तयारीका लागि विभिन्न १७ वटा उपसमितिहरुको बैठक बसि सुझाव संकलनको काम मंगलबारदेखि सकिएको छ । पूर्व घोषित कार्ययोजना अन्तर्गत साधारणसभा कै जस्तो बार्षिक प्रतिवेदनबाट आएका सुझावका आधारमा असोज २५ गते बस्ने कार्यसमितिको बैठकले अनुमोदन सहित साधारण सभा सम्पन्न गर्ने योजना संघले जनाएको छ ।

lcci
You might also like

Comments are closed.