सामाजिक काममा सक्रिय बन्दै गण्डकी विकास बैंक, विद्यार्थीलाई छात्रवृत्ति

आर्थिक आवाज
पोखरा, २९ चैत । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले सामाजिक काममा सक्रियता बढाएको छ । यसैक्रममा बैंकले बिहीबार वाराही माध्यामिक विद्यालय पोखरा ५ पस्र्याङका ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्रति विद्यार्थी ३ हजार ५ सय रुपैयाँका दरले १० हजार ५ सय रुपैयाँ छात्रवृति प्रदान गरेको हो ।

कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्राचार्य शिव प्रसाद भण्डारी, अभिभावक, विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति थियो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ शाखा प्रमुख प्रमोद ओझाको उपस्थिति थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल र प्राचार्य शिवप्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छात्रवृत्ति हस्तान्तरण गर्दै पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको र वाराही विद्यालयको पनि राम्रो हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरे । बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

You might also like

Comments are closed.