साहसिक पर्यटकको गन्तव्य बन्दै बिमलनगर चुनपहरा

सुनिता आचार्य
पुस १,तनहुँ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा साहसिक पर्यटकको गन्तव्य बन्दै गएको छ । चुनपहरा चट्टान आरोहण (रक क्यामिङ) गर्ने आन्तिरक तथा बाह्य पर्यटकको लागी आकर्षक गन्तव्य बन्दै गएको हो । आरोहण गर्न आउने पर्यटकको संख्या बृद्धि भएसँगै त्यस क्षेत्रका पर्यटन व्यवसायीहरुको व्यापार फस्टाएको छ । बिमलनगरमा केही समय पहिला बाह्य पर्यटकहरु मात्र चट्टान आरोहणमा आउने गरेको भएपनि हाल चुनपहरा आन्तिरक पर्यटकको समेत रोजाईमा परेको छ । सिद्व गुफा विकास समितिले यस खेलको प्रबद्र्धनका लागि रक क्लाइमिङ प्रतियोगिता समेत गर्न थाले पछि राम्रो प्रचारप्रसार भएको र विदेशी मात्रै नभई स्वदेशी आरोहीको समेत भीड लाग्ने गरेको सिद्ध गुफा बिकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

हिमाल आरोहण गर्नेका लागी प्रारम्भिक तालिम, रक लेभल १को तालिम लगायत अन्य रक स्पोर्टहरुको तालिमको लागी यो क्षेत्र अत्याधिक प्रयोगमा आउन थालेको छ । पहिलो अन्तराष्ट्रिय गाईड गोर्खाका इमान गुरुङको पर्वत आरोहण गर्ने क्रममा मृत्यु भएको सम्झनामा पहिलो पटक २०६३ सालमा चुन पहरामा पहिलो रुट बनाइएको थियो । रक लेभल १ पास भएपछि प्रेम बहादुर गुरुङ्ग,पदम घले, सुवार गुरुङ्ग, श्री महर्जन लगायतको टोलिले पहिलो पटक रुट स्थापना गरेका हुन् । पहरामा ३० देखी ७० मिटर सम्मका १६ वटा रुट स्थापना गरिएको श्रेष्ठले बताए ।

२०७२ सालको बिनाशकारी भुकम्प पछि चटान आरोहण गर्न आउनेको संख्यामा केही कमी आएपनि हाल सो क्षेत्रमा दैनिक चट्टान आरोहीको संख्या बढ्दै गएको छ । हालसम्म १९ हजार जनाले रक क्लाइमिङ गरेको समितिले जनाएको छ । चट्टान आरोहणका लागी आउने पर्यटकलाई ९० जना सम्मलाई निशुल्क टेण्ट लगाएर बस्ने व्यवस्था गरिएको र चटान आरोहण गरेवापत सम्पुर्ण सामग्री सहित जम्मा एक हजार ५ सय शुल्क लिने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
बिमलनगरमा आन्तिरक तथा बाह्य पर्यटकको आगमन बाक्लो हुन थालेपछि होमस्टे प्रवद्र्धनमा समेत टेवा पुगेको श्रेष्ठले बताए । सिद्ध गुफा अवलोकन तथा चट्टान आरोहणको लागी आउने पर्यटकको लागी स्थानीय ११ घरमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । बिमलनगरको सिद्ध गुफा धेरै आन्तिरक तथा बाह्य पर्यटकहरुले रुचाउने पर्यटकीय स्थल हो र चट्टान आरोहणको प्रचारप्रसारले पछिल्लो समय पर्यटकहरुको आर्कषण झनै बढ्दै बिमलनगर सामुदायिक होमस्टेकी अध्यक्ष बासना थापाले बताइन ।

चुनपहरा नेपालको सबैभन्दा गाह्रो तर सुविधायुक्त प्राकृतिक चट्टान आरोहण स्थल मानिन्छ । पुथ्वी राजमार्गको छेउमै भएकाले बन्दीपुर, पोखरा, काठमाडौँ, मुक्तिनाथ लगायत पर्यटकीय स्थलमा हिडेका पर्यटकहरु बिमलनगरमा भुल्ने गर्छन । दैनिक २०० जनाको हाराहरीमा सिद्ध गुफा अवलोकन गर्न आन्तिरक तथा बाह्य पर्यटक आउने श्रेष्ठले बताए ।

चट्टान आरोहणको अतिरिक्त सिद्ध गुफामा पर्यटन तान्ने धेरै बस्तुहरु रहेका छन् , गुफा भित्र टेबल टेनिस खेल्ने व्यवस्था, सुटिङ स्थल, २ घण्टा ३० मिनेटको हाइकिङ, प्याराग्लाइडिङ र मस्र्याङदी नदीमा ¥याफटिङ पर्यटकका लागी नयाँ आकर्षण बनेका छन् । निकट भविष्यमा नै सिद्ध गुफा क्षेत्रमा बन्जी जम्प, जिप फ्लायरको सम्भावना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

पर्यटकलाई बिमलनगर सामुदायिक होमस्टेमा १ रात बस्ने व्यवस्था गरी बन्दीपुर हुदै छिम्केश्वरी, हुस्याङ्ग देखी घुमाउनेबाट सौराहसम्म हाइकिङ मार्ग विस्तार गर्ने कार्य अगाडि बढेको श्रेष्ठले जानकारी दिए । सो योजना सफल भएपछि बिमलनगरको आर्थिक तथा समाजिक उन्नतीमा ठुलो योगदान पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे । सम्भावना भएर पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको हुदाँ यसको बिकासको लागी गाँउपालिकासँग निरन्तर छलफल भइरहेको समितिले जनाएको छ ।

You might also like

Comments are closed.