‘सिके राउतसँग सम्झौताका कारण पछुताउनु पर्ने दिन आउँछ’

पोखरा, १ चैत

गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले विखण्डनकारीसँग राष्ट्र झुक्न नहुने बताएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार विशेष समयमा बोल्दै उनले सिके राउतसँग सम्झौताका कारण पछुताउनु पर्ने दिन आउनेसमेत बताए । सिके राउतसँग सहमति गरेर सरकारले राष्ट्र विखण्डनको एजेण्डलाई बैधानिकता दिएको बताउँदै उनले भने,‘यो यस्तो जग हो, यो यस्तो रोग हो, भोलि यहि कारण पछुताउनु पर्ने दिन आउँछ ।’ उनले राउतसँग भएको सहमति राष्ट्रघाती भएको बताउँदै सम्झौता खारेज गर्न माग गरे । उनले भने,‘दुई तिहाईको दम्भमा भएको राष्ट्रघाती सम्झौता सच्याइयोस् ।’

तर सरकारले राउतलाई प्रधानमन्त्रीकै हैसियतमा केपी ओली उपस्थित भएर सम्झौता गरेका कारण राष्ट्र विखण्डनको एजेण्डालाई सरकारले बैधानिकता दिएको उनको भनाई थियो । प्रधानन्यायाधीशको एकल बेञ्चबाट सिके राउतलाई रिहाईको आदेश दिइनु र भोलिपल्टै सरकारसँग सहमति हुनु संयोग मात्रै मान्न नसकिने उनको भनाई थियो ।

नेता नेपालीले विप्लवसँग वार्ता गरेर सहमति खोज्न आग्रह गरे । हिजो युद्धबाटै सरकारमा पुगेका र दमन गरेरै माओवादी सिध्याउने रणनीतिमा रहेका दलहरुको संयुक्त रहेको बताउँदै उनले भने,‘सरकारले विगत भुलेर विप्लवलाई प्रतिबन्धित ग¥यो, तर विगतको अनुभवले पनि वार्ताबाहेक बाट समाधान निस्कदैन भन्ने देखाइसकेको छ, त्यसैले वार्ताबाटै सहमति खोज्न म आग्रह गर्दछु ।’

प्रदेश सभा सदस्य हरिशरण आचार्यले विप्लवप्रति राज्य निर्मम बनेको आरोप लगाउँदै वार्ताबाटै सहमति खोज्न आग्रह गरे ।

प्रदेश सभा सदस्य मिना गुरुङले उपभोक्ता गुणस्तरहिन उपभोग्य वस्तु खरिद गर्न बाध्य भएको बताउँदै यसको अनुगमन गरेर गुणस्तरिय उपभोग्य वस्तु पाउने ज्ञारेन्टी गर्नुपर्ने बताईन् ।

You might also like

Comments are closed.