सिटी रेवान महोत्सवमा मौलिक खानालाई प्राथमिकता

पोखरा, १७ फागुन । पोखरामा हुने ‘आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’मा नेपाली तथा स्थानीय मौलिक खानाका परिकारलाई प्राथमिकता दिइने भएको छ । पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजना तथा जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको सहआयोजनामा फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुँदैछ ।

पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । सडक र दायाँबायाँको क्षेत्रमा महोत्सव हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा खाना तथा अन्य गरी २६ वटा स्टल रहने उनले बताए । मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत प्रवद्र्धन गरिने बताइएको छ । हस्तकलाका स्टलहरुलाई पनि विशेष प्राथमिकतामा राखिने तिमिल्सिनाले जानकारी दिए ।

यस क्षेत्रको विकास तथा स्थानीय बजारको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको जाल्पादेवी बहुउद्देश्यीय विकास समिति अध्यक्ष विश्वकुमार बिजुक्छेले जानकारी दिए । स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी महोत्सव गर्न लागिएको श्रेष्ठले बताए । ‘राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति दैनिक रुपमा हुनेछ,’ उनले भने ।

बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको महासचिव जीवन दाहालले बताए । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । मेलाको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी, सहप्रायोजकमा क्यानभास वाइन र अफिसियल पानीमा प्युरो मिनिरल वाटरले साथ दिएका छन् ।

महोत्सव अवधीभर पर्यटन वर्ष २०२० लाई लक्षित गरेर विभिन्न कार्यक्रम संचालन हुने र महोत्सव अवोलकनमा दर्शकहरुलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । महोत्सवको आकर्षणमा राष्ट्रिय तथा स्थानीयस्तरका लोक दोहोरी कलाकारहरुको दैनिक प्रस्तुति, पप कन्सर्ट, हाँस्य कलाकारहरुको दैनिक प्रस्तुति, ढिँडो खाने प्रतियोगिता, कृषि प्रदर्शनी, रत्यौली गीत प्रतियोगिता, भाले छोप्ने प्रतियोगित लगायत रहने बताइएको छ ।

You might also like

Comments are closed.