सिद्ध बराह तपोवन सन्यास आश्रमको पूर्ण संरक्षण गर्ने गण्डकी प्रतिष्ठानको प्रतिबद्धता

पोखरा, १ असार ।  गण्डकी प्रतिष्ठान प्रालि पोखराले सिद्ध बराह तपोवन सन्यास आश्रम पोखरा लेखनाथ २३ माझथुमलाई सहयोग गर्ने भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा प्रालिले मन्दिर संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता गरेको हो । कार्यक्रममा बोल्दै प्रालिका सल्लाहकार राजेश गुरुङले मन्दिरको संरक्षणमा पूर्ण सहयोग गर्ने बताए । गुरुङले यस अगाडि खास्टेको मन्दिर संरक्षणमा पनि सहयोग गरेका थिए ।

चेन गेट लगाउने, फलामको ट्रस्ट बनाउने, बाटो मर्मत गर्ने, गुरुकुल आश्रममा अध्ययनरत बटुकहरुको पठनपाठनमा आवश्यक सहयोग प्रालिले गर्ने गुरुङले बताए । मन्दिरको संरक्षण गरेर प्रचार¬–प्रसार गर्न सके पर्यटकको संख्या बढ्न सक्ने प्रालिका प्रवन्ध निर्देशक मीनबहादुर भण्डारीले धारणा राखे ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ २३ का वडा अध्यक्ष विष्णु पराजुलीले सिद्ध वराह मन्दिरको संरक्षण गरी प्रचार–प्रसार गर्नुपर्ने बताए । माझथुम नौबिसे टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालले मन्दिर धेरैको आस्थाको केन्द्र भएकाले संरक्षणमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

आश्रमका उपाध्यक्ष कलाधर भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीयबासी हरि भण्डारी, वडा सदस्य भरत भण्डारी, आश्रमका कोषाध्यक्ष टंकप्रसाद पराजुली, आश्रमका शिक्षक निजानन्द पौडेल लगायतले बोलेका थिए ।

गण्डकी प्रतिष्ठान प्रालिले यस अगाडि माझथुमस्थित ठूलाखेतमा स्थानीयलाई आवातजावतका लागि पुल निर्माण गरिसकेको छ । धारापानीको खेतीयोग्य जमिन संरक्षणका लागि खोलामा तारजाली लगाइनुका साथै बस्ती संरक्षणको काम पनि गरिरहेको प्रालिका अध्यक्ष हरिप्रसाद बरालले जानकारी दिए ।

You might also like

Comments are closed.