सिमसार पुर्ने काम रोकिनुपर्छ : मुख्यमन्त्री

पोखरा, २३ वैशाख

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिरानमा रहेको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन् । ‘फेवातालको माटोले सिमसार क्षेत्र पुरिदै’ भन्ने शिर्षकमा समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि सोमबार सिमसार क्षेत्र अवलोकन गर्न पुगेका मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्र बचाउनुको सट्टा पुर्न थालेकोप्रति दुःख व्यक्त गर्दै यो तत्काल रोकिनुपर्ने बताएका हुन् । सिमसार संरक्षण गरेर रामसार सूचीमा राखेका बेला पुरिनु राम्रो भएन–उनले भने,‘यो रोकिनुपर्छ, यसबारे महानगरसँग कुराकानी हुन्छ ।’

मुख्यमन्त्री गुरुङले महानगरपालिकाले फेवातालको माटो उत्खनन् र सिमसार पुर्ने काम हतारमा गरेको टिप्पणी गरे । सर्बोच्चको फैसला अनुसार फेवातालको सिमाङ्कन गरेर पिलर गाडेपछि मात्रै गर्नुपर्ने काम अहिले नै महानगरले हतार गरेर फेवातालको माटो उत्खनन् र सिमसार पुरिरहेको भन्दै उनले भने,‘योजनाबद्ध भनौं भने त यो योजनाबद्ध होइन होला, तर माटो निकाल्ने, पुर्ने काममा अहिले नै किन हतार गर्नु परेको हो महानगरलाई ? ।’ उनले फेवातालको सिमाङ्कन भइसकेपछि त्यस सिमा भित्रको माटो निकाल्ने काम सम्बन्धित निकायले गर्ने बताए ।

पछि गर्नुपर्ने काम महानगरले फेवातालको माटो हतारमा निकालेर राम्रो गरेपनि सिमसार पुरेर उल्टो काम गरेको टिप्पणी गरे । हामीले फेवातालको सिरान क्षेत्रमा सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भनेका छौं–उनले भने,‘तर बिचमै महानगरले पुर्नु दुःखद हो, थुप्रिरहेका चिज त अन्त लगेर फाल्ने भनिरहेका छौं भने ताल वा सिमसार पुर्ने कामचाहिं राम्रो भएन ।’ सिमसारको संरक्षण गर्नुपर्ने जिम्मा पाएको स्थानिय सरकारको रुपमा रहेको महानगरले संरक्षणको सट्टा मास्दै लैजाने हो भने संरक्षणको अर्थ नहुने उनले टिप्पणी गरे ।

फेवाताल संरक्षणका लागि प्रदेश सरकार र महानगरपालिकाले सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने निर्णय भइसकेको छ । फेवातालको मुख्य श्रोतको रुपमा रहेको हर्पनखोला, खहरेखोला र अँधेरीखोलामा चेकड्याम निर्माण गर्न जसका लागि ३३ करोड ९० लाख रुपैयाँको बजेट चुट्याइएको छ । जसमा प्रदेश र महानगरले पचास÷पचास प्रतिशत बजेट हाल्नेछन् ।

मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्रको संरक्षणको जिम्मा महानगरको भएपनि त्यसलाई सघाउन प्रदेश सरकारले सहकार्य गरिरहेको बताए । उनले सिमसार क्षेत्रको संरक्षण गर्नु सबैको दायित्वको भएकाले त्यसतर्फ ध्यान दिनपनि आग्रह गरे ।

महानगरपालिकाले फेवातालको गहिराई बढाउने भन्दै फेवातालबाट माटो निकालिरहेको छ । तर त्यो निकालेको माटोले सिमसार क्षेत्र धमाधम पुरिदैछ । घडेरी बनाउनका लागि सबैतिर सिमसार भएको ठाउँको बिचमा लगेर पुर्ने काम धमाधम भइरहेको हो । तालको जलाधार क्षेत्रको सिरान खपौंदी क्षेत्रमा पोखरा महानगरपालिकाले जेसिभीको प्रयोग गरेर ताल गहिराउने काम गरिरहेको छ । सोहि माटो खपौंदी भन्दा केहि माथि पामे बजार नजिकको पहिलेको डुंगाघाट अर्थात समर्खु भन्ने ठाउँको सिमसार क्षेत्र पुर्ने काम भइरहेको छ । हालसम्म झण्डै ४ सय ट्रक माटो त्यस क्षेत्रमा हालिसकेको छ । सिमसार पुर्ने काम अरु कसैले नभई पोखरा महानगरपालिका आफैले गरिरहेको हो । सिमसार पुर्ने काम अहिलेपनि रोकिएको छैन ।

सिमसार क्षेत्र तालको पानीको श्रोत मात्रै भएकोले त्यहाँ माटो राख्दा खतरा बढेको होइन । बरु त्यहाँ अहिले हिउँदमा राखेको माटो पछि बर्खामा आएको पानीले बगाएर पुनः फेवातालमै ल्याउँछ । जसले गर्दा फेवाताल पुनः पहिलेकै जस्तो पुरिन्छ । यस कारणले पनि फेवाताल पुरिने जोखिम बढेको हो । सिमसार क्षेत्र पुर्ने काम साँच्चै भन्ने हो भने ‘गाउँगाउँमा बाटो, फेवातालमा माटो’ भन्ने उखानसँग मिल्दो छ ।

फेवातालको माटो निकाल्ने जिम्मा पाएको रिच पोखरा कन्स्ट्रक्सनले भने फेवाताललाई असर नपर्नेगरी तालको माथिल्लो भागमा तालबाट निकालिएको माटो फाल्ने गरेको बताउँदै आएको छ । रिच पोखरा कन्स्ट्रक्सनका सञ्चालक मध्येका एक पोषण थापाले भने,‘महानगरकै स्विकृतिमा हामीले तालको माथिल्लो भागमा माटो लगेर फालेका हौं, फालेको माटो तालसम्म नआइपुगोस् भनेर हामी सचेत छौं, त्यसैलेपनि हामीले समर्खु क्षेत्र रोजेका हौं ।’

गण्डकी प्रदेशका सांसद रामजी बराल ‘जीवन’ले सिमसार क्षेत्रको संरक्षणको जिम्मा पाएको महानगरले नै फेवातालको माटो निकालेर सिमसार क्षेत्र पुर्नु दुःखद भएको बताए । सिमसार क्षेत्र पुरिनु ताल संरक्षणको बिरुद्धमा रहेको उनको भनाई छ । ताल गहिराउने नाममा कसैको अवैध लालपूर्जालाई बैध बनाएर घडेरी बनाउने काम भइरहेको भन्दै उनले बिरोध जनाएका छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.