सिमान्तकृत बोटे समुदायलाई एकीकृत बस्ती

सुनिता आचार्य
तनहुँ, १६ फागुन
सिमान्तकृत जातीको घर आवास व्यवस्थापनका लागी व्यास–५ लुते बराहमा निर्माण गरिएको एकीकृत बस्ती बुधबार हस्तान्तरण गरिएको छ । विभिन्न ठाँउमा छरिएर रहेका बोटे बस्तीलाई सहरी विकास तथा भवन निर्माण कार्यालय गोर्खाको जनता आवास कार्यक्रम मार्फत एकीकृत नमुना बस्ती निर्माण गरी विद्युतीकरण समेत विस्तार गरिएको व्यास–५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । गत बैशाख देखी सुरु भएको उक्त एकीकृत बस्ती निर्माणको लागी नगरपालिकाले जग्गा सम्याउने, आवास अनुगमन गर्ने लगायतका कार्यक्रम नगरपालिकाले गरेको श्रेष्ठले बताए ।

जनता आवास कार्यक्रम मार्फत २ वटा कोठा र शौचालय सहित ६ वटा घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । प्रति घर ३ लाख ३२ हजार ५ सयको लागतमा निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण कार्यालय गोर्खाका प्राविधिक शंकरराज गैरेले जानकारी दिए ।

उक्त एकीकृत नमुना बस्ती उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बोटे जातीका घरहरु टाढा–टाढा हुदाँ परेका समस्यालाई मध्यनजर गरी बस्ती एकीकृत गरेको जानकारी दिए । एकै ठाँउमा बस्ती हुदाँ सुरक्षाको दृष्टिकोणले पनि सहज हुने र खानेपानी, सडक तथा विकासका अन्य पुर्वाधार विस्तार गर्न सहज हुने उनले बताए । साथै सोही अवसरमा न्यौपानेले बोटेका छोराछोरीलाई स्कुल पठाउन आग्रह गरे । छोरीहरुको विवाह गर्न हतार नगरी पढाउन पर्छ उनले भने । सोही अवसरमा नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले सबै जनताले बिजुलीको सुविधा सहज रुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यताले बोटे समुदायमा बिजुली विस्तार गरेको बताए । लालपुर्जा नभएका कारण बिजुलीको सुविधा नपाएको सिमान्तकृत बस्तीमा बिजुली विस्तार गर्न पाउदा आफुलाई पनि खुशी लागेको बताए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ, ४का अध्यक्ष विश्व न्यौपाने, ५का अध्यक्ष मोहनकुमार श्रेष्ठ, १०का अध्यक्ष तुलसीराम सापकोटा, आदिवासी जनजाती महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, व्यास–५ नेपाली कांग्रेसका सभापति यज्ञ खनाल, व्यास ५का वडा सदस्य सुन्दर वाग्ले चापाघाट टोल विकास संस्थाका अध्यक्ष मानधोज थापा, स्थानीय कृष्ण दरै लगायतले बोलेका थिए । कार्यक्रम आवास निर्माण समितिकी अध्यक्ष रुपा बोटेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिमान्तकृत बोटे बस्तीमा पहिलो पटक बिजुली बल्यो


तनहुँको व्यास–५ लुते बराह स्थित सिमान्तकृत बोटे बस्तीमा पहिलो पटक बिजुली विस्तार भएको छ । बषौँ देखी सार्वजनिक जग्गामा बसोबास गर्दै आएका माझी, बोटे जातीहरुसँग लालपुर्जा नहुदाँ बिजुलीको सुविधा उपभोग गर्नबाट बञ्जित थिए । विभिन्न ठाँउमा छरिएर रहेका बोटे बस्तीलाई जनता आवास कार्यक्रम मार्फत एकीकृत नमुना बस्ती निर्माण गरी विद्युतीकरण समेत विस्तार गरिएको हो । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको विशेष पहलमा एकीकृत नमुना बस्तीमा विद्युत सेवा विस्तार गरिएको हो ।

बषौँ देखी टुकीको भरमा बसेका बोटे समुदायका सन्तबहादुर बोटेले आफ्ना पालामा बिजुली बल्ने आश पनी गरेका थिएनन् । बोटे भन्छन् “पारी गाँउमा बलेका बत्ती हेरेर भन्थ्यौ, हाम्रा छोरा नातीको पालामा त कसो यो गाँउमा नि बत्ती नबल्ला र ? हाम्रै पालामा बत्ती बल्यो हामी दंङ्ग छौँ” । घर भत्किएर बिजोग थियो । बस्न मिल्ने नै थिएन । नयाँ घर पाउदाँ त खुशीको सिमा नै छैन स्थानीय धनमाया बोटेले भनिन् । जनता आवास कार्यक्रमले हामीलाई धेरै राहत पु¥याएको छ हावा चल्दा घरको छानो नै उडाउछ कि भन्ने डर लाग्थ्यो । साघुरो घरमा गुजारा गरेका थियौँ, घर एक्लै हुदाँ जंगली जनावरले आक्रमण गर्ने त्रास पनि उत्तिकै थियो आवस निर्माण समितिकी अध्यक्ष रुपा भोटेले भनिन् ।

You might also like

Comments are closed.