तनहुँ, १९ बैशाख
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एसोसियसन नेपाल महासङ्घ (क्यान फेडेरेसन) तनहँुले विहीवार दमौलीमा साईवर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । अहिलेको समयमा सामाजिक सञ्जाल र अन्य प्रविधिको प्रयोगले समाजमा पारेको नकारात्मक असर बारे युवापुस्तालाई सचेत र सजग गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको महासङ्घले जनाएको छ ।
कार्यक्रममा बिभिन्न बिद्यालयका ५ सय जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रशिक्षक सविनजंग कार्कीले सामाजिक सञ्जालहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र यस्को दुरुपयोगले हुन सक्ने सम्भावित दुर्घटनाको बारेमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रम प्रतिनिधि सभा सदस्य केदार सिग्देलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सांसद रामबहादुर गुरुङ, सरिता गुरुङ, दोवाटे बि.क., नेपाली कांग्रेस तनहुँका सहसचिव केशबहादुर सुनार, तनहँु उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, प्रहरी निरिक्षक जनक बन्जारा, क्यान महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डे, क्यान महासंघ तनहुका उपाध्यक्ष टिका राम पनेरु लगायतका उपस्थिती रहेको थियो ।
दिवसको अवसरमा यस अघि प्रभातफेरी समेत गरिएको आयोजकले जनाएको छ । सोही अवसरमा क्यान महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डेले व्यास नगरपालिका वडा नं. ११ शेरा स्थित बसन्त आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययनरत् छात्रा पुष्पा थापाको अभिभाकत्व ग्रहण गरेका छन् ।
Comments are closed.