सुनगाभाको मन्टेश्वरी र व्युटिसियन तालिममा ७० महिला सहभागी

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ सुनगाभाको आयोजनामा मन्टेश्वरी तथा व्युटिसियन तालिम सुरु भएको छ । तालिम ३ महिनासम्म चल्ने क्लबका अध्यक्ष ऋतु पौडेलले जानकारी दिइन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले हालै एक कार्यक्रमका बीच तालिमको समुद्घाटन गरिन् ।

उक्त अवसरमा बोल्दै गभर्नर लम्सालले महिलाहरुको क्षमता विकाससंगै आत्मनिर्भर बनाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गरिन् । गभर्नरको प्राथमिकतामा राखेको कार्यक्रमलाई लक्षित गरी क्लबले कार्यक्रम आयोजना गरेको भन्दै उनले आभार व्यक्त गरिन् । ‘सिकेका ज्ञान तथा सिपलाई व्यवहारमा उतारेर आत्मनिर्भर तथा व्यावसायिक बन्न सक्नुपर्छ,’ उनले भनिन् ।

फस्ट भाइस गभर्नर मनबहादुर रोक्का, क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, चिफ एडभाइजर महेन्द्र पौडेल, क्लस्टर प्रमुख महेश पौडेलले लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । पोखरा २७ मा रहेको लिटल गार्डेन मन्टेश्वरीमा तालिम सञ्चालन हुनेछ । पुस १ देखि शुरु भई माघको अन्तिमसम्म चल्ने तालिममा ७० जना प्रशिक्षार्थी सहभागी हुँदैछन् ।

क्लबका अध्यक्ष ऋतु पौडेलको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष गिमाया गुरुङले राखेकी थिइन् । मन्टेश्वरी प्रशिक्षक साल्भी वास्तोलाले तालिमको विषयमा प्रशिक्षार्थीलाई प्रकाश पारेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव कविता घिमिरेले गरेकी थिइन् । क्लबले सामाजिक क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको अध्यक्ष पौडेलले बताइन् । ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.