किसान सुनार
अध्यक्ष
नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ, कास्की
सुन, चाँदी, पत्थर, रत्न तथा आभुषणको व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको संस्था नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्की स्थापनाको पाँचौं वर्ष पुगेको छ । संस्थाले शनिबार विविध कार्यक्रम सहित वार्षिकोत्सव कार्यक्रम मनाउँदैछ । यसैक्रममा सुनचाँदी व्यवसायको अवस्था, व्यवसायीका समस्या, संस्थाको गतिविधि लगायत विविध विषयमा संस्थाका अध्यक्ष किसान सुनारसँग आर्थिक आवाजले गरेको कुराकानीः
नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कस्तो संस्था हो ?
नेपालमा सुन चाँदी रत्न तथा आभुषणको क्षेत्रमा काम गर्ने व्यवसायीको संलग्नतामा नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ गठन भएको हो । कास्कीमा पनि महासंघ गठन भएको छ । यसमा सुन चाँदी, पत्थर, रत्न तथा आभुषण क्षेत्रमा काम गर्ने व्यवसायी साथीहरु आबद्ध हुनुहुन्छ । पहिला सुनचाँदी व्यवसाय विशेष गरी पोखरामा केन्द्रित थियो । अहिले धेरै क्षेत्रमा फैलिएको छ । पोखरा र लेखनाथमा रहेका सबै व्यवसायीलाई संलग्न बनाएर हामीले संस्था स्थापना ग¥यौं । हामीसँग अहिले १ सय ९ जना सदस्य हुनुहुन्छ ।
संस्थाले के–कस्ता गतिविधि गरिरहेको छ ?
व्यवसायीको हकहित, व्यवसायको प्रवद्र्धनका साथै नेतृत्व तथा क्षमता अभिवृद्धिको लागि विभिन्न काम गरिरहेका छौं । सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक काम पनि हामीले गरिरहेका छौं । व्यवसायीलाई करको विषयका साथै विभिन्न कानुनी विषयवस्तुको वारेमा जानकारी दिन कर शिक्षा, कानुनी सचेतना लगायतका विभिन्न कार्यक्रम गरेका छौं । अहिले यस क्षेत्रमा नयाँ–नयाँ प्रविधि आएका छन् । त्यस्ता प्रविधिको वारेमा जानकारी दिन विभिन्न कार्यक्रम गरिरहेका छौं ।
बर्तमान समितिले के–के काम गर्दैछ ?
पहिला यो व्यवसाय घरायसी तथा काम चलाउ रुपमा थियो । अहिले धेरै व्यावसायिक, व्यवस्थित तथा स्तरीय भएको छ । समय सापेक्ष रुपमा परिर्वतन तथा परिमार्जन गर्नु अझै पनि आवश्यक छ । हामीले व्यवसायलाई समय सापेक्ष रुपमा सञ्चालन गर्न सकेनौं भने निरन्तरता दिन सक्दैनौं । बैंक तथा वित्तीय संस्था नभएको समयमा यही व्यवसाय संचालन गरेका व्यवसायीबाट बैंकको काम पनि भएको उदाहरण छ । हामीले यस कार्यकालमा धेरै काम गर्नुपर्छ । व्यवसायी भलाई कोष स्थापना गर्दैछौं । व्यवसायीका साथै संघले कोषमा रकम जम्मा गर्नेछौं । छात्रवृत्ति प्रदान, व्यवसायीका छोराछोरीलाई सम्मान, रक्तदान, सरसफाई लगायतका कार्यक्रम पनि हामीले गरिरहेका छौं । लेखा प्रणालीमा सुनचाँदी व्यवसायी अलमलिने गरेको हामीले पाएका छौं । सामुहिक रुपमा अडिट गर्ने तथा राज्यलाई तिर्नुपर्ने करको दायित्व तिर्नबाट कोही बञ्चित हुन नपरोस् साथै कसैलाई असहज नहोस भनेर हामी विभिन्न कार्यक्रम ल्याउदै छौं । व्यवसायको सामुहिक रुपमा बिमा गर्ने तथा व्यवसायीको पनि बिमा गर्नुपर्छ भनेर स्वास्थ्य विमा, दुर्घटना विमा लगायतका विमालाई पनि अगाडि बढाएका छौं ।
सदस्यहरुको क्षमता अभिबृद्धिमा के–के काम भइरहेका छन् ?
प्रत्येक वर्ष मुम्बईमा २ वटा सिग्नेचर एक्स्पो हुने गर्दछ । संसारभरीका व्यवसायी त्यहाँ आउनुहुन्छ । हामीले पनि त्यहाँ प्रतिनिधित्व गर्दै आइरहेका छौं । त्यहाँ बस्ने खाने व्यवस्था आयोजकले गरेको हुन्छ । त्यहाँ गएर सीप सिक्ने तथा भ्रमण गर्ने अवसर पाइन्छ । नियमित रुपमा ३ वर्षसम्म हामीले प्रतिनिधित्व गरिरहेका छौं । मलेसिया, श्रृलंका, दुवई लगायतका देशसँग सम्वन्ध बिस्तार गरी भ्रमणमा लैजाने योजना पनि हामीसँग छ । भलाई कोष मार्फत विभिन्न गतिविधि संचालन गर्ने साथै आश्रित परिवारलाई महिला उपसमिति बनाएर काम गर्ने, आश्रित कालिगढको पनि दुर्घटना बिमा गर्ने साथै व्यवसायमा सुरक्षित छु भन्ने महसुस गराउनेछौं । उनीहरुको क्षमता विकासको लागि विभिन्न तालिमहरु गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं । व्यवसायीलाई दक्ष बनाउने अभियानमा हामी छौं । वर्षमा २ वटा नेतृत्व विकासका तालिम चलाएका छौं । नेपालमा करिब ६० प्रतिशत व्यवसायीले विदेशी कालीगढ मार्फत काम गर्नुपर्ने बाध्यता छ । हामीले स्वदेशी कालिगढ उत्पादन गरी मौलिकतालाई प्रवद्र्धन गर्न पनि पहल गरिरहेका छौं ।
सुनचाँदीको गुणस्तरका सम्बन्धमा तपाईंको धारणा के छ ?
हामीले प्रत्येक प्रदेशमा जेम्स ल्याब र हल मार्किङ सिस्टम स्थापना गर्नुपर्छ भन्ने तयारीका साथ सम्वन्धित निकायमा ज्ञापन पत्र बुझाएका छौं । हल मार्किङको पनि व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो माग छ । हल मार्किङ सर्टिफाइड भएमा जसले पनि व्यवसाय गर्न सक्छ । यसले गरगहनाको गुणस्तर पनि वैज्ञानिक प्रविधिबाट मापन हुन्छ । राज्यले पुर्वाधार तयार गर्नु आवश्यक छ । गुणस्तर मापनको लागि राज्यले मेसिन उपलब्ध गराउनुपर्छ र व्यवसायीले त्यसको आधारमा नै व्यवसाय संचालन गर्नुपर्छ । यसले राज्यलाई अनुगमन गर्न पनि सहज हुन्छ ।
व्यवसायीले भोग्नुपरेका समस्याहरु केके छन् ?
यस क्षेत्रका व्यवसायीले धेरै समस्या भोग्नुपरेको छ । सुनचाँदी व्यवसायी आफैमा संवेदनशील व्यवसाय हो । सामान्य तरिकाले हेर्दा यो व्यवसाय राम्रो छ । यस व्यवसायमा पनि धेरै समस्या तथा कठिनाई छन् । बैंकबाट नै ऋण लिने चलन छ । चोरीको डर पनि धेरै छ । सुकिला मुकिला तथा हुने खाने व्यवसायी भन्ने दृष्टिकोणले हेर्ने चलन छ । चन्दा माग्ने पनि धेरै आउने गरेका छन् । व्यावसायिक सुरक्षा छैन । लगानी पनि धेरै गर्नुपर्छ । राज्यले यस व्यवसाय संचालनको लागि निर्देशिका बनाएको छैन । हामीले यसको लागि पहल गरिहेका छौं । यस व्यवसायमा पनि सिण्डिकेट छ । ठुला व्यवसायीको मनोमानी चलेको छ । राज्यले पनि कोटा तोकेर सिण्डिकेट गरेको छ । कच्चा पदार्थको आपूर्तिमा सहजता छैन । यसलाई अनुत्पादक क्षेत्र भनेर लिने गरेको पाइन्छ । राज्यले अहिले प्रत्येक दिन १५ देखि २० किलो कोटामा सुन सीमित गरेको छ । त्यो पनि वाणिज्य बैंकहरुलाई मात्रै सीमित गरेको छ । यसलाई खुल्ला र प्रतिस्पर्धी बनाइनुपर्छ । सामान्य व्यवसायीले ५ तोला भर्खरै व्यापार गरेको छ भने उसले बिलबिजकको आधारमा तत्काल सुन पाउनुपर्छ । अहिले साना व्यवसायीले सुन किन्न राजधानी नै जानुपर्ने बाध्यता छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा सुनलाई पनि सहज रुपमा व्यवसायीले प्रदेशबाटै पाउने व्यवस्था हुनुपर्छ । नेपाल बाहिर गरगहना लैजान चाहेमा कर तिरेर लैजान पाउने व्यवस्था गरिनुपर्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
नेपाली परम्परागत गहना संसारमा नै ख्याती प्राप्त छन् र माग बढिरहेको छ । हामीले मौलिक गरगहनालाई विदेशसम्म पठाउन सकेमा व्यापार घाटा पनि कम हुन्छ । रोजगारीको सृजना पनि गर्न सकिन्छ । यस व्यवसायको विषयमा स्पष्ट कानुन, नीति नियम नहुँदा पनि हामीले व्यवसायलाई मर्यादित ढङ्गले संचालन गरिरहेका छौं । छिटफुट रुपमा घटना हुन्छन् तर त्यसका कारण सम्पूर्ण व्यवसायीलाई नराम्रो दृष्टिले हेरिन्छ जुन राम्रो होइन । यस व्यवसायमा धेरै अवसर छन् । यस क्षेत्रबाट राजस्व पनि राम्रो संकलन हुने गरेको छ ।
Comments are closed.