सुनचाँदी व्यवसायलाई थप व्यवस्थित बनाउन आवश्यक : मन्त्री लम्साल

पोखरा, २ असार ।

प्रदेश ४ का उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले सुनचाँदी व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउन आवश्यक रहेको बताएका छन् । कानुनी अस्पष्टताका कारण व्यवसायीलाई व्यवसाय संचालनमा अप्ठ्यारो भएकोले छिटै स्पष्ट कानुन ल्याउन पहल गर्ने उनको भनाई छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न पाँचौं वार्षिकोत्सव तथा नेतृत्व विकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधी हल मार्किङ, जेम्स ल्याव लगायतको व्यवस्था गर्ने उनको भनाई छ ।

कार्यक्रम प्रदेश नम्वर ४ का उपसभामुख सृजना शर्माले सुनचाँदी व्यवसाय अझै व्यवसायिक बन्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिईन् । उनले संस्थाले दिने नेतृत्व विकास तालिम दक्ष जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रदेश नम्वर ४ का सांसद प्रभा कोईरालाले परम्परागत गहनाले विश्वभर नेपालको पहिचान झल्काउने बताईन् । “यस व्यवसायमा दक्ष कालीगढ आवश्यक छ’’उनले भनिन् । व्यवसायिक हितको लागि व्यवसायी सधै एक भएर लाग्नुपर्नेमा उनले जोड दिईन् ।

संघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन संचारकर्मी शुसिल नेपालीले गरेका थिए भने सारेगम कला केन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

साथै शनिवार नै भएको नेतृत्व विकास तालिममा व्यवसायी तथा तालिम लिन उत्साहि गरी १ सय ३० जनाको सहभागिता रहेको छ । उत्प्रेरणा, नेतृत्व विकास, कानुनी सचेतना, कर, दुर्घटना विमा, अग्नी विमा लगायत विभिन्न विषयमा तालिम दिईएको संस्थाका सचिव भरत विश्वकर्माले जानकारी दिए ।

You might also like

Comments are closed.