सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ पुस । सर्वोच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ । सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै सर्वोच्चले झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।

यसअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो । जोशीले दिएको अनुमति कानुनविपरीत भएको र आदेशबाट सुमार्गीले रकम झिकेको गलत भएको भन्दै अदालतले जति रकम झिकिएको थियो त्यत्ति नै फिर्ता गर्न आदेश गरेको हो। सर्वोच्चको आदेशपछि सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता गर्नुपर्ने भएको छ ।

सर्वोच्चले विदेशबाट सुमार्गी मातहतमा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा नेपाल भित्र्याएको रकम शंकास्पद देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डिरिङ) ऐनअन्तर्गत अनुसन्धान गर्न भनेको छ । पुस १० मा न्यायाधीश जोशीले सुमार्गीको भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए । प्रधानन्यायाधीश राणा र न्यायाधीश भट्टराईले मंगलबार यसअघिको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेका थिए। सोही आदेशको विवरण बिहीबार सार्वजनिक भएको हो ।

You might also like

Comments are closed.