सुरुङमार्ग निर्माणका लागि चिनिया र जापानी कम्पनीको इच्छा

काठमाडौं, १६, पुस । काठमाडौं–नौंविसे सुरुङमार्ग निर्माणका लागि चिनीयाँ लगाएत जापानका ६ कम्पनीहरुले इच्छा देखाएका छन् । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने सो सुरुङमार्ग निर्माणका लागि सडक विभागले गरेको ग्लोलब टेन्डर आह्वानमा ६ विदेशी कम्पनीले इच्छा देखाएका हुन् ।

टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको काम थाल्न ढिलाइ भएको सडक विभागले बताएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको विभागको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।

‘प्राविधिक मूल्यांकनबाट ‘सर्ट लिस्टेड’ भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ । त्यसपछि सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ,’ उनले भने । सम्झौताका लागि लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका)को स्वीकृति आवश्यक पर्छ । आगामी वैशाखसम्म छनोट हुने कम्पनीले सुरुङमार्ग निर्माणका लागि फिल्डमा पुगेर काम सुरु गर्ने अपेक्षा गरिएको शर्माले बताए ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०÷०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

You might also like

Comments are closed.