सुलभ डिपार्टमेन्टल स्टोर्स अब नारेश्वरमा, १५ करोड रुपैयाँ लगानी विस्तार

पोखरा, २५ असार ।

पोखराका ४४ जना पर्यटन व्यवसायीहरुको संयुक्त लगानी रहेको शुलभ डिपार्टमेन्टल स्टोर्स सुविधा सम्पन्न भवनमा थप सेवासहित सञ्चालन हुँदैछ । सुलभ उपभोक्ता सहकारी संस्थामार्फत ७ वर्ष अगाडि लेकसाइडस्थित गौरीघाटमा सञ्चालित स्टोर्सले १५ करोड रुपैयाँ लगानी विस्तार गरी लेकसाइडकै नारेश्वरबाट सेवा शुभारम्भ गर्न लागेको हो ।

मंगलबारबाट नयाँ स्थानबाट सेवा सुरु गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बरालले जानकारी दिए । साढे ४ रोपनी जग्गामा सञ्चालित डिपार्टमेन्ट स्टोर्सबाट पोखराका ३ सय भन्दा बढी होटल तथा रेस्टुरेन्टहरुलाई सेवा प्रदान गरिरहेको उनले बताए ।

सानोदेखि ठूला परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण घरायसी सामानहरु सहज तरिकाले बिक्री वितरण गरिने संस्थाका उपाध्यक्ष गोपी भट्टराईले जानकारी दिए । शुभारम्भका अवसरमा असार २६ देखि साउन ६ गतेसम्म प्रत्येक १ हजार रुपैयाँको खरिदमा एक केजी चिनी उपहार प्रदान गरिने उनले बताए । ‘डिपार्टमेन्टल स्टोर्स सञ्चालनसँगै भविश्यमा कृषि उत्पादन, मिनिरल वाटर, घरेलु उत्पादन तथा बस्तु आयात तथा निर्यात लगायतका गतिविधिमा पनि सम्लग्न हुने सोच छ,’ उनले भने ।

सुपथ मूल्यमा सामान उपलब्ध गराइएकाले ग्राहकको विश्वास जित्न सफल भएको बरालले बताए । पर्याप्त पार्किङको सुविधा, सम्पूर्ण सामान एउटै छाना मुनी उपलब्ध, सुपथ मूल्य, घरमै सामान पु¥याउने सुविधाले पनि स्टोर्समा ग्राहकको आकर्षण बढ्ने बरालले विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.