सूचना प्रविधिमा सबैको पहुँच आवश्यक छ: अधिकारी, सुरु भयो पोखरामा क्यान इन्फोटेक

पोखरा, ४ फागुन । प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारीले सूचना तथा प्रविधिको विकास बिना देशको विकास सम्भव नहुने बताएका छन् । सूचना र प्रविधि क्षेत्रमा सबैको पहुँच पु¥याउनुपर्ने उनले बताए । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको क्यान इन्फोटेकको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै अधिकारीले सूचना र प्रविधिमा आधारिता साक्षरता आवश्यक रहेकोमा जोड दिए ।

‘प्रविधि विलाशिताका लागि होइन, आवश्यकताका लागि हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गर्दै दुरुपयोग रोक्नुपर्छ ।’ क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै क्यान केन्द्रका अध्यक्ष हेमन्त चौरासियाले सूचना र प्रविधिलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

क्यानका केन्द्रीय सदस्य अरुण बंसलले मेलाले सूचना तथा प्रविधि क्षेत्रमा भएका नविनतम प्रविधि भित्र्याउन मद्दत गर्ने धारणा राखे । क्यान प्रदेश ४ का अध्यक्ष चिन्तामणि बास्तोलाले क्यान कास्कीले वर्षेनी आयोजना गर्ने इन्फोटेकमा सूचना तथा प्रविधिमा चासो राख्नेहरुको आकर्षण बढेको बताए । ला ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसीले आइटीका विद्यार्थीका उत्पादनलाई इन्फोटेकमा प्राथमिकता दिनुपर्ने बताए ।

द्वितीय उपाध्यक्ष विश्वास भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए । मेला फागुन ८ गतेसम्म जारी रहने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । कम्प्यूटर तथा सूचना प्रविधि क्षेत्रमा भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यले इन्फोटेक आयोजना गरिएको उनले बताए ।  उद्घाटन कार्यक्रममा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल पनि सहभागी थिए ।

 

You might also like

Comments are closed.