सूचना प्रविधिमैत्री बन्दै भानु नगरपालिका

आर्थिक आवाज
तनहुँ । तनहुँको भानु नगरपालिकालाई प्रविधिमैत्री बनाउने क्रममा मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । नगरका हरेक गतिविधिलाई प्रविधिको माध्यमबाट सर्वसाधरण तथा सेवाग्राहीलाई जानकारी गराउने उद्देश्यले मोबाइल एप्लिकेशन सार्वजनिक गरिएको सूचना प्रविधि अधिकृत अजन्ता ढकालले जानकारी दिइन् ।

‘नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा हामी छौं,’ ढकालले भनिन्, ‘नगरपालिकाका सम्पूर्ण गतिविधि तथा सेवाहरु अब मोबाइल एप्सबाट घरमै बसेर हेर्न सकिन्छ ।’ सेवालाई सहज बनाउन पनि मोबाइल एप्स सहयोगी हुने ढकालले विश्वास व्यक्त गरिन् ।

नगरपालिकाको प्रोफाइलसहित प्रवाह हुने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, वडा विवरण, नगरपालिका भित्रका महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर, प्राय सोधिने प्रश्नहरु एप्समा समावेश गरिएको छ । ‘नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सम्पर्क विवरण पनि समावेश छ,’ उनले भनिन् । सर्वसाधारणले आफ्ना समस्या एप्सबाटै दर्ता गर्न सक्नेछन् । सुझाव तथा गुनासो पनि राख्न सकिने व्यवस्था छ । मोबाइलको गुगल प्लेस्टोरमा गएर भानु म्युनिसिप्यालिटी सर्च गरी एप्लिकेशन डाउनलोड गर्न सकिने छ ।

You might also like

Comments are closed.