पोखरा । पोखरा महानगरपालिकाले दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको (पुरानो बृद्ध) हस्पिटलामा ५० बेडको क्वारेन्टाइन अस्पताल आज दिनभरिमा तयार गर्ने निर्णय गरेको छ ।
दुवै अस्पतालमा आवश्यक बेड लगायत उपचारका सामग्री तयारी अवस्थामा रहेकाले अन्य बाँकी काम पुरा गरेर भोलिबाटै सञ्चालनमा ल्याइने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । लामो समयदेखि बन्द रहेका कारण सरसफाई लगायत अन्य केही सामग्रीहरु व्यवस्थापन आज दिनभरीमा हुने र भोलिबाट सञ्चालनमा ल्याउन सकिने उनले जानकारी दिइन् ।
दुवै हस्पिटलमा महानगरप्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहित वडा अध्यक्ष र स्वास्थ्यकमीहरु सहित विहान अवालोकन गरेका छन् । अवलोकनपछि महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालमा आवश्यक सामग्रीको व्यवस्थापन महानगरले गर्ने र आज दिनभरिमा व्यवस्थापन गर्न महानगर स्वास्थ्य महाशाखालाई निर्देशन दिए ।
अहिले यी दुई हस्पिटलमा तयारी गर्ने र आवश्यकता परे अन्य ठाउँमा व्यवस्थापनका लागि तयारी गर्ने जिसीले बताए । सृजनाचोकमा रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा आइसोलेसन बेड समेत बनाउन सकिने छ । हस्पिटलक डाक्टर कृष्ण नेपालीले एक सय बेडमा ५० बेड आइसोलेसन बेड बनाउन सकिने बताए ।
Comments are closed.