सृजना विकास केन्द्रको ३९औं वार्षिकोत्सव

आर्थिक आवाज
पोखरा । सामाजिक कार्यमा अग्रणी संस्था सृजना विकास केन्द्रले आफ्नो ३९ औं वार्षिकोत्सव मनाएको छ । ३९ वर्ष अघि पोखराको सृजनाचोकलाई केन्द्रित गरेर स्थापित सृजना विकास केन्द्रले आफ्नो ३९ औं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा मनाएको हो । वार्षिकोत्सवको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले समुद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पुनले निर्वाचनमा पैसामा टिकट किनबेच हुँदा भ्रष्टाचार मौलाएको टिप्पणी गरिन् । पैसा दिएर टिकट लिएकाले निर्वाचित भएपछि आफूले टिकट लिँदा खर्चेको रकम उठाउन भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको भन्दै उनले भनिन्, ‘अहिलेको हाम्रो चुनावी प्रणालीका कारण धनीले मात्र टिकट पाउँछ, जसले पैसा दियो उसैलाई टिकट दिइने गरिन्छ, यसले गर्दा जितेपछि उसले आफूले खर्चेको रकम उठाउन भ्रष्टाचार गर्छ, जसका कारण भ्रष्टाचार झन् भन्दा झ्न बढेको छ ।’ चुनावी प्रणाली नै खर्चिलो भएकाले यसको सुधारमा उनले जोड दिइन् । राम्रोलाई मात्रै टिकट दिने गरेमा भ्रष्टाचार आफै घट्ने उनको दाबी छ ।

मन्त्री पुनले सृजना विकास केन्द्रलाई तालिमका लागि सहयोग गर्ने आश्वासन दिइन् । उनले भनिन्, ‘सृजना विकास केन्द्र यति धेरै पुरानो संस्था भन्ने मलाई थाहा थिएन, यसले आफूलाई समाजमा अब्बल सावित गरिसकेको छ, अझ अगाडि बढ्नका लागि यहाँका कर्मचारीको स्तरोन्नतीका लागि प्रदेश सरकारले सहयोग गर्छ ।’ उनले तालिमको प्रोपोजल लिएर आउन आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने आश्वसन दिएकी हुन् ।

सृजना विकास केन्द्रका सल्लाहकार समितिका सभापति राजकुमार गिरीले सामाजिक क्षेत्रमा सृजना विकास केन्द्रले नया नया कामको थालनी गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले छिट्टै आवासीय बृद्धाश्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराए । त्यसका लागि जग्गाको खोजि भइरहेको उनको भनाई थियो ।

संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार लिलाधर बरालले संस्थाले सदस्यसँगै सामाजिक हितमा काम गर्दै आएको बताए । कांग्रेस नेता देवराज चालिसेले सृजना विकास केन्द्र सामाजिक काममा अनुकरणीय र लघुवित्त क्षेत्रमा उदाहरणीय रहेको बताए ।

संस्थाका अध्यक्ष मीनप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, समाजसेवी परशुराम बराल, प्रथम उपाध्यक्ष ईन्द्र पौडेल, सचिव चन्द्र गिरीलगायतले सृजना विकास केन्द्रले समाजसेवा, युवा, बालबालिका, वातावरण, खेलकुदलगायतको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

You might also like

Comments are closed.