सेतीलाई सौन्दर्यकरण गरेर पर्यटनको हब बनाऔं

 

पोखरा, ३ बैशाख

सेती नदीलाई सौन्दर्यकरण गरेर पर्यटकीय हब बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । युनाइटेड क्लव पोखराले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सेती नदी संरक्षण’ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सेतीको दुई किनारमा फुट ट्रयाक निर्माण गरेर ठाउँठाउँमा गार्डेन तथा सेतीको खोंच हेर्नसक्ने झोलुङ्गे पुल निर्माण गरेर सेतीलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताएका हुन् ।

पोखराको मध्यभाग भएर बग्ने सेती नदी पर्यटनको सम्भावना बोकेको ठाउँ हो । साँघुरो गल्छी भएर बग्ने यो नदीको चौडाई भन्दा गहिराई धेरै छ । साथै यो नदीको मुख्य विशेषता भनेको सङ्लो पानी बग्नु हो । पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना बोकेको यो नदी पछिल्लो क्रममा फोहोर हुँदै गएको छ । स्थानियले सिधै नदीमा ढल मिसाउने, फोहोर फाल्नेलगायतका कार्यले पवित्र सेती नदी फोहोर दुर्गन्धित बन्दै गएपछि यसको संरक्षणसँगै सौन्दर्यकरण गरेर पर्यटकीय गन्तव्य बनाउनुपर्ने आवाज उठ्ने गरेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला ‘रुपक’ले सेतीको संरक्षणसँगै त्यसलाई सौन्दर्यकरण गर्न सके सेतीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । सेती नदीको एकीकृत विकास परियोजना बनाएर त्यसको सौन्दर्यकरण गरिनुपर्ने उनको भनाई थियो । सेतीको दुई किनारमा फुट ट्रयाक बनाएर त्यसको बिच बिचमा गार्डेन बनाएर पर्यटक भुल्नसक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । फुट ट्रयाक तथा गार्डेन वरपर होटल तथा रेष्टुरेण्टसमेत सञ्चालन गरेर पर्यटक आकर्षित गर्नुका साथै उनीहरुको बसाईसमेत लम्ब्याउन सकिने उनको भनाई थियो । साथै उनले सेतीको वारपार झोलुङ्गे पुल निर्माण गरे त्यहाँबाट सेतीको खोंच दृश्यावलोकन गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए ।

हिजो अस्थिर सरकार र संक्रमणकाल थियो, कर्मचारीपनि सरुवा भइरहने भएकाले जवाफदेही भएन–उनले भने,‘तर आज स्थिरता छ, दुई तिहाईको सरकार छ, त्यसैले नगरी बस्ने छुट छैन ।’ उनले संघ, प्रदेश र स्थानिय तह गरेर तीन वटै सरकारले सेती संरक्षणसँगै त्यसको सौन्दर्यकरणमा भूमिका खेल्नुपर्ने बताए । उनले सेतीको मापदण्ड हरेक वर्ष फेरिने प्रवृत्तिप्रति असन्तुष्टी जनाए । सेतीमा ५ मिटरको मात्रै मापदण्ड बन्नु विडम्बना र दुर्भाग्य भएको बताउँदै उनले भने,‘सेती साँच्चिकै बचाउने हो भने वैज्ञानिक मापदण्ड बनाउनुपर्छ, त्यसका लागि विज्ञ टोली गठन गर्नुपर्छ र त्यसले गरेको निर्णय कठोरताका साथ कार्यान्वयन गर्नुपर्छ ।’सेतीलाई सौन्दर्यकरण गर्ने हो भने पर्यटक आकर्षित हुने र त्यंिहबाट आयआर्जन गर्दै समृद्धीमा सघाउने वातावरण बन्ने भन्दै उनले भने,‘यसो गर्न सकियो भने सरकारले भनेको समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक हुन्छ ।’

भुगोलबिद् कृष्ण केसीले सेती नदीको महत्व ठूलो भएको बताउँदै यसलाई व्यवस्थित र सफा राख्न सके यसले समृद्धीमा सघाउने बताए । सेती सबै हिसाबले महत्वपूर्ण छ–उनले भने,‘फेवाताल, बेगनास ताल र रुपातालको भन्दा यसको महत्व कम छैन ।’ यद्वपी उनले यसका लागि बृहद योजना आवश्यक पर्ने बताए । उनले सेतीको महत्व नबुझ्नेहरुले यसमा फोहोर गरेर डुङडुङ्ती गन्हाउने बनाएको टिप्पणी गरे । सेतीमा फोहोर फाल्दा पितृलाई पनि असर गर्ने भन्दै उनले भने,‘सेतीको सिरानमा फोहोर फाल्ने अनि त्यसको तलपट्टी आएर पवित्र गण्डकी भन्दै पितृलाई चढाउँछन्, माथि फोहोर गरेर तलपट्टी त्यहि फोहोर पानीले पितृलाई चढाउँदा पितृलाईपनि हैजा लाग्छ ।’

पोखरा महानगरपालिका वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष समरबहादुर श्रेष्ठले सेतीको वालुवाको दोहन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । साथै उनले सेतीको वरीपरी दुबैतर्फ फुट ट्रयाक निर्माण गरेर मान्छे हिंड्ने बनाउन सक्ने हो भने पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

समाजसेवी पवित्रादेवी गुरुङले सेतीको विकासका लागि विज्ञ टोली बनाएर त्यसको बृहद गुरुयोजना बनाउनुपर्ने बताए ।

पत्रकार घनश्याम पाण्डेले सेतीमा फोहोर फाल्ने र ढल मिसाउने कार्यले पवित्र सेतीको खिल्ली उडाएको भन्दै भने,‘हामीले धारामा धमिलो पानी आयो भन्दै धाराको टुटी फे¥यौं, तर टुटी फेरेर हुँदैन, पानीको मुहान सफा गर्नुपर्छ, त्यसैले सेतीको मुहानदेखी नै सफाईसँगै संरक्षण गर्नुपर्छ ।’ संरक्षण पहिलो शर्त भएपनि यसलाई सौन्दर्यकरण गरेर प्रोडक्टको रुपमा बेच्न सक्ने बनाएर पर्यटक भित्राउन सके यसले पर्यटनको माध्यमबाट समृद्धीमा सघाउने बताए ।

युनाइटेड क्लव पोखराका अध्यक्ष लालकाजी गुरुङ, उपाध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष शुकबहादुर गुरुङलगायतले सेतीको संरक्षणसँगै सौन्दर्यकरणमा युनाइटेड क्लवले नेतृत्व लिने भन्दै सहयोगको लागि आग्रह गरेका थिए ।

You might also like

Comments are closed.