सेती रिभर साइड पर्यटकको आकर्षक गन्तव्यः अधिकारी

सरोज अधिकारी
सञ्चालक, सेती रिभर साइड रिसोर्ट

पोखरा महानगर ३३ स्थित कस्यारमा सात जना युवा व्यवसायीहरुको संयुक्त लगानीमा सेती रिभर साइड रिसोर्ट सञ्चालन भइरहेको छ । बजारको कोलाहल भन्दा केही टाढा शान्त वातावरणमा रमाउन चाहनेहरुका लागि रिसोर्ट आकर्षक गन्तव्य बनेको छ । रिसोर्टमा लगानी गर्नुको उद्देश्य, रिसोर्टका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर सञ्चालक सरोज अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीः

पर्यटन क्षेत्रमा कसरी लगानी गर्नुभयो ?
प्रदेश नंं ४ को राजधानी बिशेष गरी पोखरा महानगरपालिका भित्र विभिन्न व्यावसायिक गतिविधि बढिरहेका छन् । पर्यटन व्यवसायको भविष्य राम्रो छ भन्ने मलाई लागिरहेको थियो । यो व्यवसायमा लागेर केही उदाहरणीय कार्य गर्नुपर्छ भन्ने मान्यताले मसहित केही युवाहरुको संयुक्त लगानीबाट हामीले पर्यटन व्यवसायमा नयाँ शैलीबाट पाइला टेकेका हौं । शान्त तथा स्वस्थ वातावरण रहेको स्थान तथा गाउँघरमा बसेको अनुभव प्रदान गर्ने तरिकाले हामीले रिसोर्ट सञ्चालन गर्न सफल छौं । पोखरा ३३ मा रिसोर्ट छ । कृषि र पर्यटनलाई सँगसँगै लैजान सकिन्छ भन्ने हिसाबले हामीले रिसोर्ट सञ्चालनमा ल्यायौं । आन्तरिक पर्यटकलाई मध्यनजर गरेर रिसोर्ट संचालन गरेका हौं ।

रिसोर्ट बजारबाट केही टाढा हुँदा समस्या भएको छैन ?
व्यवसायको शुरुवातमा त टाढा भयो भन्ने लाग्थ्यो । सडकको विकास पनि राम्रो भएको थिएन । तर, भविष्यमा राम्रो हुन्छ भन्नेमा हामी ढुक्क थियौं । अहिले पर्यटकको भिड बढिसकेको छ । एक वर्षको अनुभवमा हामी सन्तुष्ट छौं । टाढा भएको अनुभूति भएको छैन । बजारको भिडबाट केही टाढा शान्त स्थानमा पुग्ने र रमाउने क्रम बढिसकेको छ ।

सेती रिभर साइडका विशेषताहरु के–के छन् ?
बजारमा कृत्रिम चिजको विकास भइरहेको छ । हामीले स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको प्रयोग गर्छौं । अर्गानिक खानाको स्वाद लिन पनि यहाँ आउन हामी आग्रह गर्छौं । बजारमा आउने खानेकुरामा धेरै मिसावटका साथै केमिकल प्रयोग गरिएको हुन्छ । हामीले स्वच्छ तथा स्वस्थ खाना खुवाउँछौं । पारिवारिक वातावरणमा हामी सेवा सुविधा प्रदान गर्छौं । हामीले आफ्नो फार्ममा पनि तरकारी उत्पादन गर्दै आएका छौं । बजार क्षेत्रबाट केही टाढा शान्त स्थान तथा सेती नदीको काखमा रिसोर्ट छ । अन्य समयमा भन्दा बिदाको दिनमा पर्यटकको संख्या धेरै रहने गरेको छ । हामीसँग स्विमिङ पुल छ । बच्चाको लागि पार्कको व्यवस्था पनि गरेका छौं । गर्मीको समयमा प्राकृतिक गुफामा बसेर शितलता लिन सकिन्छ ।

रिसोर्टमा कतिवटा कोठा छन् ?
हामीसँग सिङ्गल तथा डवल गरी १० वटा एटेच कोठा छन् । सेमिनार हल पनि छ । बिस्तारै डिलक्स रुम बनाउँछौं । करिब २० रोपनी क्षेत्रफल जग्गामा रिसोर्ट फैलिएको छ । करिव साढे २ करोड रुपैयाँ लगानी रिसोर्टमा भएको छ । एक रात बसेको प्रतिव्यक्ति करिव १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लाग्छ । प्रत्यक्ष १२ जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा ४ जना छन् ।

रिसोर्टमा कसकसको लगानी छ ?
रिसोर्टमा ७ जनाको लगानी छ । हाम्रो ‘योङ एण्ड इनर्जेटिक टिम’ बनेको छ । कोही वैदेशिक रोजगारबाट फर्केको हुनुहुन्छ त कोही यहाँ नै काम गरेको हुनुहुन्छ । म सहित पदमराज पौडेल, वीरेन्द्र बानियाँ, नारायणप्रसाद भण्डारी, अस्मित सुवेदी, भुपाल..थापा, भीम बहादुर बानियाँको संयुक्त लगानी छ ।

रिसोर्टमा आउने ग्राहकको प्रतिक्रिया कस्तो छ ?
हामीले ग्राहक तथा पर्यटकबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यहाँ आएर गएपछि अर्को पटक पनि आउने गरेको हामीले पाउछौं । साथै यहाँ आएका साथीभाइ मार्फत पनि नयाँ पर्यटक तथा ग्राहक आउने गर्नुभएको छ । हामी यसबाट उत्साहित भएका छौं । बिदाको दिनमा बस्ने गरेर आउने र अन्य दिनमा पारिवारिक तथा साथीभाइसँग आएर रमाइलो गर्ने क्रम बढेको छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
म व्यवस्थापनको विद्यार्थी हुँ । नेपालमा सम्भावना भएको क्षेत्र कृषि र पर्यटन हुन् भन्ने चर्चा धेरै चल्छ । साथीसँग मिलेर मैले चितवनको सौराहामा नेचर सफारी विच क्याम्प रिसोर्ट संचालन गरेको थिएँ । त्यसबाट पनि मलाई यस क्षेत्रमा अनुभव प्राप्त भयो । आफ्नो अनुभव तथा ज्ञानलाई आफ्नै ठाउँमा उपयोग गर्नुपर्छ भनेर म यहाँ आएँ । यो पनि विकासको पाटो हो । यस ठाउँको पर्यटन प्रवद्र्धनको लागि यो आधार बन्छ भन्ने मलाई लाग्छ । पहिला यहाँ दिउसोमा आउँदा पनि डर लाग्ने खालको ठाउँ थियो । कुनै समयमा यहाँ धान रोपाइँ पनि हुन्थ्यो । यो ठाउँलाई हामीले अहिलेको अवस्थामा ल्याउन धेरै मेहनत गरेका छौं । अहिले यो ठाउँ पर्यटकीय गन्तव्य बनेको छ ।

You might also like

Comments are closed.