सेवा गर्ने मौका दिनुस् : समावेशी व्यवसायी समूह

पोखरा, ५ असोज

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि सरेको समावेशी व्यवसायी समूहले सेवा गर्ने मौका दिन आग्रह गरेको छ । समूहको तर्फबाट अध्यक्षका उम्मेद्वार दामु अधिकारीले सेवा गर्ने मौका दिए पोखरेली उद्योगी व्यवसायीको पहरेदार बन्ने प्रतिबद्धता पुनः जनाएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने,‘प्रजूले पहिले पनि मौका पाएकै हुन्, तर लाभको पद पाएपछि संघलाई लात हानेर वडाध्यक्ष बन्न गए, तर म २ वर्ष तपाईंहरुकै पहरेदार बन्ने छु, चौकीदार बन्नेछु ।’

अध्यक्षका उम्मेद्वार अधिकारीले उद्योगी व्यवसायी मतदातालाई राजनीतिक कार्यकर्ता रोज्ने कि उद्योगी व्यवसायीको सेवक रोज्ने भनेर प्रश्न गरेका छन् । उनले चुनाव जितेर उपाध्यक्ष नारायण कोइरालालाई कार्यवाहक दिएर वडाध्यक्षमै फर्किने शकुनी चाल रच्ने रबिन्सनलाई रोज्ने कि ईमान्दार तरिकाले लाभको पद नलिने घोषणा गरेको आफूलाई रोज्ने त्यो उद्योगी व्यवसायीको हातमा रहेको बताए । उनले भने,‘शकुनीको चालमा फस्ने कि पूर्ण कार्यकाल सेवक बनेर पहरेदार बन्छु भन्ने म दामु अधिकारीलाई रोज्ने आफै निर्णय गरेर विद्युतीय मत पेटीकामा अभिमत जाहेर गर्नुस् ।’

अधिकारीले आफूलाई मत दिएर बिजयी गराए अव्यवहारिक कर घटाएर व्यवसायमैत्री कर निर्धारण गर्न भूमिका खेल्ने बताए । उनले संघलाई सबैले गर्वका साथ संघ मेरो हो भन्ने बनाउने प्रतिबद्धता जनाए । पोखराको ट्राफिक व्यवस्थापनका कारण व्यवसाय चौपट भएकाले यसको दीर्घकालिन समाधान खोज्ने, सरकारसँग हातमालो गरेर समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने, घरमा बसीबसी मोवाइलबाटै संघको सुविधा लिनसक्ने अत्याधुनिक प्रविधि जडान गर्ने, उद्योगी व्यवसायीको सहयोगको लागि प्रभावकारी हेल्प डेस्क स्थापना गर्ने, संघलाई सबै उद्योगी व्यवसायी अटाउने चौतारी बनाउने, पर्यटनलाई उद्योगको रुपमा विकास गर्नेलगायतका आफ्नो सपना भएको बताउँदै त्यसलाई सफल बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.