सेवा विस्तार गर्दै ग्रीन डेभलपमेण्ट बैंक, अब केन्द्रीय कार्यालय पोखरामा

आर्थिक आवाज
पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लि.ले केन्द्रीय कार्यालय पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोकस्थित केन्द्रीय कार्यालयको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले प्रदेश सरकारका नीति तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट बैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । ‘राज्यको संघीय सरकार अन्तर्गत पर्ने बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनले भने । बैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास बैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट बैंकबीच आर्थिक विकास तथा समृद्धिका क्षेत्रमा सहकार्य हुनेसमेत बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउन प्रदेश स्तरका बैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानीय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बैंकले वागलुङ जिल्लाबाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरी बैंकको व्यवसाय वृद्धीको अभियानमा अगाडि बढेको बताए । स्थानीय पर्यटन, कृषि तथा स्थानीय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै बैंकले अत्याधुनिक बैकिङ सेवाहरु प्रदान गरिरहेको छ,’ उनले भने ।

कार्यक्रममा डेभलपमेण्ट बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास बैंकका प्रमुखकार्यकारी अधिकृत रेशमवहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगायतले बैंकलाई शुभकामना प्रदान गरेका थिए । बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बैंकले कास्की, वाग्लुङ र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरु, मोबाइल बैंकिङ, निःशुल्क एटिएम सेवा, कनेक्ट आइपिएस लगायतका सुविधा प्रदान गर्दै आइरहेको छ । बचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । बैंकले छिट्टै नै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको छ ।

You might also like

Comments are closed.