सौराह–पोखरामा सुविधासम्पन्न पर्यटक बस, पर्यटक बढ्ने विश्वास

सुरेन्द्र पौडेल

सौराह, २ साउन । पर्यटकीय नगरी पोखरा र सौराहलाई जोड्ने गरी सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा आएको छ । पोखरा जगदम्बा ट्राभल्स प्रालिले मंगलबारबाट एसियाकै उत्कृष्ट स्तरको बस सञ्चालनमा ल्याएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार सौराहमा एक कार्यक्रमका बीच बस सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटकीय केन्द्र पोखरा र सौराहलाई सुविधासम्पन्न बस सेवाबाट जोड्नु पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको बताए । पोखरा र सौराहका साथै लुम्बिनीलाई पनि सुविधा सम्पन्न बस सेवाबाट जोडिनुपर्ने उनले बताए । पर्यटक बढाउन हवाई सेवाको पहुँचसँगै स्तरीय बस सेवा पनि महत्वपूर्ण रहने उनको भनाइ छ ।

पोखरा र सौराह आवातजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी हरियो नम्बर प्लेटको सुविधा सम्पन्न बस सञ्चालन गरिएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । ४० सिट क्षमताको गाडीमा २१ वटा मात्र सिट कायम गरिएको छ । ‘रिमोट कन्ट्रोलबाट सिटलाई चलाउन सकिन्छ,’ अधिकारीले भने ।

एकतर्फी भाडादर १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । यात्रुलाई खाना, ब्रेक फास्ट, पानी, चिसो, चिया तथा कफी निःशुल्क खुवाइने अधिकारीले जानकारी दिए । एउटा गाडीमा ७५ लाख रुपैयाँ लगानी भएको उनले बताए । अबबाट पोखरा र सौराहबाट बस दैनिक बिहान छुट्नेछ ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सौराहलाई पर्यटक केन्द्रका रुपमा विकास गर्न सुविधा सम्पन्न पर्यटक बसले योगदान पु¥याउने विश्वास व्यक्त गरे । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार सक्रिय रहने उनले बताए । प्रदेश सांसद गीता वाग्लेले पर्यटकीय केन्द्रहरुको प्रचारप्रसार बढाउनुपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवालीले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे । क्षेत्रीय होटल एसोसिएसन चितवन सौराहका अध्यक्ष सुमन घिमिरेले बस सेवाले दुईवटा पर्यटकीय शहरलाई जोड्दै पर्यटकको बसाई लम्ब्याउन समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रालिले भदौ १ गतेबाट पोखरा–लुम्बिनीमा पनि पर्यटक बस सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.