स्क्वासमा कास्कीका सन्तोष घिमिरे

आर्थिक आवाज
पोखरा, २८ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । फागुन २५ र २६ गते भएको प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् । घिमिरे पोखरा ट्रेड मलका निर्देशक तथा ओम सन्तोष इन्टरप्राइजेजका सञ्चालक हुन् ।

प्रतियोगितामा गोरखाका अमृत थापा प्रथम, नवलपुरका ऋषिराम घिमिरे द्वित्तीय र नवलपुरकै रक्ष लामा चौथो हुँदै राष्ट्रिय खेलकुदका लागि छनोटमा परेका छन् । पहिलो सेमिफाइनलमा गोरखाका अमृतले कास्कीका घिमिरेलाई ३–१ ले पराजित गरेका थिए । अर्को सेमिफाइनलमा नवलपुरका ऋषिरामले नवलपुरकै रक्षलाई पनि ३–१ को सेटमै पराजित गरेका थिए । तेस्रो स्थानको लागि भएका खेलमा कास्कीका सन्तोषले नवलपुरका रक्षलाई पराजित गरेका हुन् ।

प्रतियोगिता संयोजक तथा स्क्वास ¥याकेट्स संघ कास्की अध्यक्ष पुष्पराज श्रेष्ठका अनुसार प्रतियोगितामा कास्कीका ५, गोरखा १, तनहुँका १ र नवलपुरका २गरी प्रदेशभरबाट ९ खेलाडीले सहभागिता जनाएका थिए । छनोटमा परेका खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मेडल तथा प्रमाणपत्र प्रदान गरे । छनोटमा परेका खेलाडीले चैत २३ देखि ३० सम्म नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

You might also like

Comments are closed.