पोखरा, २९ माघ ।
पोखरा महानगरपालिका वडा नंं ७ मासबार स्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस पोखरा सभागृहहलमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले कार्यक्रमको उद्घाटन गर्दै निजी शिक्षण संस्थाहरु ढुक्कसँग चल्ने बताउँदै सामुदायिक विद्यालयहरुको स्तर उकास्न सक्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठ, प्याब्सनका केन्द्रीय सदस्य कृष्ण केसी, हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्मा, अभिभावक डा.सुजनबाबु पौडेल, विद्यालयका संयोजक सूर्य प्रसाद लम्साल लगायतले विद्यालयको प्रसंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको पढाई, खेलकुद तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले नृत्य, गीत, नाटक, कविताबाट मनोरञ्जन प्रदान गरेका थिए ।
विद्यालयका प्रचार्य निर्मला बरालले विद्यालयको गतिविधि र वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । सो अवसरमा विद्यालयमा १२ वर्षसम्म लगातार शिक्षण गर्ने शिक्षक, शिक्षिका सुशीला पौडेल, इन्दिरा बराल, विजया श्रेष्ठ, गायत्री पराजुली, बमबहादुर थापा र लव शर्मालाई चाँदीको करुवा, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण प्रसाद सुवेदी, सामाजिक विकास मन्त्रालय शिक्षा विभागका अधिकृत मनकुमारी पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु डण्डराज शर्मा, लेखबहादुर केसी र रामचन्द्र उपाध्याय, वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बराल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहप्रचार्य दीपक गिरी र विद्यार्थीहरुले संचालन गरेका थिए ।