स्थानीय उत्पादनको प्रबद्र्धन गर्न महोत्सव सफल

बाबुराम गिरी
पूर्व अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ महोत्सव स्थानीय उत्पादन प्रबद्र्धन गर्नका लागि सफल भएको छ । बिगतमा उत्पादन नै कम हुन्थ्यो, बजार नभएकैले उत्पादनमा कमी हुन्थ्यो वा भनौं चासो दिइंदैनथ्यो । उत्पादन गर्नुमात्रै ठूलो कुरा होइन । त्यसको व्यवस्थित बजारीकरण ठूलो कुरा हो । त्यसका लागि मार्केटिङ प्रमुख कुरा हो । त्यसका लागि लेखनाथ उद्योग वाणिज्य संघले शुरुमा कृषि उत्पादनलाई बढावा दियो । त्यसपछि घरेलु उत्पादनलाई हामीले जोड दियौं । अहिले पनि हामीले उत्पादित बस्तुको बजारीकरण गर्न नै लेखनाथ महोत्सवको माध्यमबाट बढी फोकस गरिरहेका छौं । यो महोत्सवमा ३ सय बढी स्टलहरु रहेका छन् । त्यसको आधा भन्दा बढी स्टलहरु स्थानीय कृषि र घरेलु उत्पादनलाई नै हामीले दिएका छौं । अझ यहाँ स्थानीय उत्पादित बस्तुका लागि निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराएका छौं । यसले यहाँका मानिसले उत्पादन गरेका बस्तुहरु बजारसम्म पनि पुग्छन् । अनि स्थानीय उपभोक्ताहरुले पनि स्थानीय अर्गानिक उत्पादन सहज र सस्तो मूल्यमा उपभोग पनि गर्न पाउँछन् । हो हामीले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेका छौं ।

महोत्सवको सफलतासँगै लेखनाथमा लगानी पनि ह्वात्तै बढेको छ । कयौं युवाहरु वैदेशिक रोजगारीबाट फर्केर तरकारी, कुखुरा, वंगुरलगायतका पालनमा जुटेका छन् । विदेश गएकाहरु पनि सीप सिकेर फर्कन थालेका छन् र यहीँ उत्पादनमा जोडिन थालेका छन् । अझ संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा लगानीको बृद्धि भएको छ । एउटै व्यक्तिले करोडौंको लगानी गर्न थालेका छन् । यसले युवाहरुलाई स्वरोजगार बनाउनुका साथै अन्यलाई रोजगारीपनि सिर्जना भएको छ । यो पनि महोत्सवकै उपलब्धी हो ।

हामीले स्थानीय तहमा कृषि उपजमा बृद्धि ल्याउनका लागि कृषि उपज खरिद बिक्री केन्द्रपनि स्थापना गर्दैछौं । यसले पक्कैपनि कृषक र उपभोक्ता दुबैलाई फाइदा पुग्नेछ । लेखनाथ उद्योग वाणिज्य संघकै इतिहासमा एउटा राम्रो प्रोजेक्ट पनि हो यो । यसले बजार खोज्दै पोखरा पुग्नेपर्ने लेखनाथबासी कृषकको बाध्यता हट्नेछ भने सामान खोज्दै पोखरा जानुपर्ने लेखनाथका उपभोक्ताको पनि बाध्यता हट्नेछ । संघको कार्यालय प्राङ्गणमै हामीले कृषि प्रविधि सूचना केन्द्र पनि स्थापना गरेका छौं । जहाँबाट कृषकहरुले कृषिजन्य उत्पादनका लागि आवश्यक कृषिजन्य उपकरणहरु, प्रविधिहरुबारे जानकारी लिने व्यवस्थापन पनि गरेका छौं । यसले पक्कैपनि कृषिजन्य उत्पादन बढ्नेमा हामी निश्चिन्त छौं ।

You might also like

Comments are closed.