बाबुराम गिरी
पूर्व अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघलेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ गतेदेखि सात तालको बाटिका शहर लेखनाथमा १६औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ । यतिबेला महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । यसैक्रममा महोत्सवसँग सम्बन्धित रहेर संघका पूर्व अध्यक्ष बाबुराम गिरीसँग आर्थिक आवाजले गरेको कुराकानीः
लेखनाथ महोत्सवको शुरुवात कसरी भएको थियो ?
यो महोत्सवको शुरुवात एकदमै सानो स्केलबाट भएको थियो । सानो क्षेत्रमा सानो मेलाबाट हामीले शुरु गरेका हौं । जतिबेला हामी यसलाई लेखनाथ महोत्सव पनि नभनेर सुन्तला महोत्सव भन्थ्यौं । तराईमा हाटबजार हुन्छ नि हो त्यस्तै गरेर यसको शुरुवात गरेका थियौं हामीले । पहिलो वर्ष त हामीले नत दर्शक ठूलो संख्यामा पायौं नत व्यापार नै ठूलो मात्रामा भयो । पहिलो र दोस्रो वर्ष मेला व्यवस्थापन गर्न निकै धौधौ नै भयो हामीलाई । जब हामीले अर्घौंचोक नजिक रहेको आवासनगरमा लेखनाथ महोत्सव भनेर शुरु ग¥यौं तबमात्रै दर्शकको सहभागिता पनि बढ्यो र व्यापार पनि बढ्यो । हामीले कलाकार पनि राम्राराम्रा ल्यायौं, अन्य सामाजिक तथा आर्थिक क्रियाकलापलाई पनि बढाएर लगेपछि यसले बृहद रुप लिँदै गयो ।
के उद्देश्य राखेर महोत्सव शुरु गरेका थियौं ?
हामीले महोत्सव शुरु गर्दा सायद नेपालमा महोत्सवको शुरुवात अन्य ठाउँमा थिएन होला । त्यो बेला हामीले लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रमा महोत्सव शुरु ग¥यौं । तत्कालीन समयमा लेखनाथ क्षेत्र नगरपालिका भएर पनि गाउँजस्तै थियो । सहरीकरण भइसकेको थिएन । यहाँका जनता कृषिमा आधारित थिए । जुन स्थानीय उत्पादनहरु बजारसम्म पुगिरहेका थिएनन् । महोत्सव शुरु गर्नुको मुख्य उद्देश्य आर्थिक प्रगति र परिवर्तनका लागि थियो । स्थानीय उत्पादनको बजारीकरण गर्ने नै यसको मुख्य उद्देश्य थियो । स्थानीय उत्पादन त थियो तर बजार पाइरहेको अवस्था थिएन । जसका लागि प्लेटफर्म आवश्यक थियो । हामीले त्यहि प्लेटफर्म दिने उद्देश्यले महोत्सव शुरु गरेका हौं ।
महोत्सवको आवश्यक्ता किन ठान्यौं ?
लेखनाथमा तत्कालीन समयमा सुन्तला पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो । सुन्तलाको खानी नै थियो तत्कालीन समयमा लेखनाथ । हंसपुर, थुम्की, भरत पोखरी लगायतका क्षेत्रमा सुन्तला प्रशस्त फल्थे । सुन्तला त फल्थे तर सिजनमा फलेको सुन्तलाको किसानले मूल्य पाउँदैनथे । त्यतिबेला बाहिरबाट आएका व्यापारीहरुले कौडीको भाउमा सुन्तला लान्थे । त्यो देखेर हामीले किसानले मूल्य पाउनुपर्छ र त्यसका लागि सुन्तलाको बजारीकरणमा सघाउनुपर्छ भनेर सुन्तला महोत्सवबाट लेखनाथ महोत्सवको शुरुवात गरेका हौं । त्यसपछि यस क्षेत्रमा माछा उत्पादन हुने, डेरीका सामानहरु उत्पादन हुने, तरकारी उत्पादन हुने, कफी उत्पादन हुने भएकाले त्यसलाई पनि सघाउनुपर्छ भनेर सुन्तला महोत्सवलाई थप बिस्तार गरेर लेखनाथ महोत्सवको स्वरुप दिएका हौं । महोत्सवमा कृषिजन्य उत्पादन, महिला उद्यमी र घर÷घरमा उत्पादित घरेलु सामग्रीहरुलाई हामीले प्राथमिकता दिदै आएका छौं ।
१६औं महोत्सवसम्म आइपुग्दा उद्देश्य अनुसार सफल भएको पाउनुहुन्छ ?
शुरुवातमा हामीले सानो स्केलमा सोंच्यौं । तर अहिले महोत्सवले बृहद स्वरुप ग्रहण गरिसकेको छ । यो महोत्सव लेखनाथको संस्कृतिकै रुपमा विकास भएर गएको छ । महोत्सवले लेखनाथको पहिचानमै समेत ठूलो महत्व राख्छ । सामान्य महोत्सवबाट शुरु भएको यो महोत्सव अहिले लेखनाथको ठूलो चाडपर्वको रुपमा विकसित भएको छ । सबै वर्ग, समुदाय र जातजातिहरुको सहभागिता छ महोत्सवमा । यो महोत्सव नेपालकै एउटा ठूलो महोत्सव बन्न सफल भएको छ । यस हिसाबले हामी उद्देश्यमा सफल भएका छौं भन्न सक्छौं ।
महोत्सवलाई सफल बनाउन समग्र लेखनाथ र पोखरेलीको साथ र सहयोग कस्तो छ ?
मेला, महोत्सव अहिले जहाँतहिं हुन थालेको छ । मेलामा विकृति पनि आएको छ । पोखरा उपत्यकामा एक दर्जन नै महोत्सव हुने गरेका छन् । तर अन्य मेला महोत्सव भन्दा लेखनाथ महोत्सवको प्रकृति नै फरक र यहाँको गतिविधी अन्यको भन्दा तुलनात्मक रुपमा राम्रो हुने भएकाले आम मानिसले हेर्ने दृष्टिकोण नै फरक छ । दर्शक सहभागिता लेखनाथ महोत्सवमा अत्यधिक छ । हाम्रो महोत्सवमा विविधता रहेकाले पनि यसरी मन पराइएको हो भन्ने लाग्छ । महोत्सवलाई लेखनाथ र समग्र पोखरेलीको साथ र सहयोग मिलेको छ । उद्योगी, व्यवसायीदेखि प्रायोजक र समग्र दर्शकको माया र सहयोग पाइरहेका छौं । त्यसैले यसपटकको महोत्सवपनि भव्य हुनेमा हामी ढुक्क छौं ।
Comments are closed.