स्थानीय उत्पादनलाई बढावा दिन मेड इन नेपाल पेभेलियन

सुमन बिजुक्छे
अध्यक्ष
नेपाली युवा उद्यमी मञ्च पोखरा

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल एक्स्पो पोखरा जारी छ । एक्स्पोमा नेपाली युवा उद्यमी मञ्च पोखराले मेड इन नेपाल पेभेलियन राखेको छ । पेभेलियन राख्नुको कारण लगायत मञ्चका विविध विषयमा केन्द्रित रहेर नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुमन बिजुक्छेसँग आर्थिक आवाजले गरेको कुराकानीः

मेड इन नेपाल पेभेलियन के हो ?
मेड इन नेपाल भनेको नेपालमा उत्पादित वस्तुहरुको पेभेलियन हो । यसमा नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शनी वा बिक्रीका लागि राखिन्छ । यसको व्यवस्थापन युवा उद्यमी मञ्च पोखराले गर्छ । यस वर्ष एक्स्पो पोखरामा १० वटा स्टल छन् । यो अघिल्लो वर्षपनि राखिएको थियो । यस वर्ष २० वटा स्टल राख्ने तयारी गरिएपनि कृषि, अटो, पर्यटन लगायतका छुट्टाछुट्टै पेभेलियन बनाउँदा मेड इन नेपालको पेभेलियनमा राख्ने भनिएका स्टल अन्य पेभेलियनमा पर्न जाँदा कम स्टल भएको हो । यी स्टलहरुमा खास गरेर स्थानीय उत्पादनलाई मात्र राखिन्छ । यस वर्ष भैरहवा र विराटनगरबाट पनि मेड इन नेपाल पेभेलियनमा स्टल रहन्छ ।

छुट्टै पेभेलियन नै बनाएर स्टल राख्नुको कारण के हो ?
खास गरेर दर्शकलाई आकर्षण गर्नकै लागि मेड इन नेपाल पेभेलियन बनाइएको हो । अन्य स्टल र यी स्टल फरक छन् है भन्ने देखाउनका लागि पनि हो । काठमाडौंमा त युवा उद्यमी मञ्चले छुट्टै एक्स्पो नै आयोजना गर्ने गरेका छन् । तर पोखरामा युवा व्यवसायीहरु केही कम भएकाले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोमा नै छुट्टै पेभेलियन बनाएर गरिएको हो ।

युवा उद्यमी मञ्च पोखरा कस्तो संस्था हो ?
युवा उद्यमी मञ्च युवा उद्यमीहरुको साझा संस्था हो । यसमा पोखरा आसपासका ९२ जना युवा उद्यमीहरु आबद्ध छन् । यसमा आबद्ध युवा उद्यमीहरुबीच नेटवर्क स्थापना गर्न यो गठन गरिएको हो । ता कि उनीहरुबीच विचारको आदानप्रदान, परिस्थिति र अवस्थाको शेयरिङ होस् । यसका लागि प्रत्येक महिना भेला हुन्छ । भेलामा व्यवसायीहरुले आफ्नो उद्योग वा फार्मको बारेमा जानकारी गराउने गर्छन् । हामीले यस्तो भेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित मोटिभेसनल स्पीकरहरुको क्लास तथा सफल उद्यमीहरुलाई बोलाएर उनीहरुको संघर्ष र सफलताको कथाहरु सुनाउन लगाउँछौं । यसले युवा उद्यमीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ भन्ने हाम्रो विश्वास हो ।

मञ्चको उद्देश्य के हो ?
युवा उद्यमी मञ्चको मूख्य उद्देश्य भनेको युवाहरुलाई विदेश जानबाट जोगाई नेपालमै स्वरोजगार गर्न प्रोत्साहित गर्नु हो । खास गरेर पोखरेली युवाहरुलाई रोजगारी भन्दा पनि स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने बारेमा सिकाउने उद्देश्य राखिएको छ । लस्कर लागेर विदेश जाने युवाहरुलाई रोक्ने प्रयास पनि हो भन्दा फरक नपर्ला । त्यसका लागि हामीले लखपति योजना सञ्चालन गरेका छौं । जस अन्तर्गत साना उद्यमीहरुलाई १ लाख बिना ब्याज सहयोग गरेर सक्षम बनाउन सघाउने गरेका छौं । तर त्यो रकम १८ महिना पछि भने बिना ब्याज फिर्ता गर्नुपर्छ ।

कस्ता व्यक्तिहरु मञ्चमा आबद्ध हुन पाउँछन् ?
यसमा ४० वर्षसम्मका युवा उद्यमीहरु आबद्ध हुन पाउँछन् । तर मञ्चमा आबद्ध भइसकेर चालीस वर्ष कटेकाहरुलाई भने हामी फ्रेण्ड्स अफ एन.वाइ.ई.एफ.भनेर राख्छौं । यद्वपि उहाँहरुलाई मताधिकार भने दिइँदैन । यसमा उद्योग, व्यवसाय, पर्यटन लगायतमा संलग्न जो कोही युवा पनि आबद्ध हुन पाउँछन् ।

You might also like

Comments are closed.