स्थानीय सरकारलाई आवधिक योजना बनाएर काम गर्न मुख्यमन्त्रीको सुझाव

आर्थिक आवाज
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगद्वारा नेपालको दीर्घकालीन सोच सहितको पञ्च वर्षीय पन्ध्रौं योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा) माथि सुझाव लिने उद्देश्य सहित आयोजित गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा मुख्यमन्त्री गुरुङले हचुवाको भरमा डोजर लगाउने कार्य नगरी योजना बनाएर विकासमा लाग्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले योजना बनाएर काम गर्दा स्रोतको सुनिश्चितता र आफ्नो सामथ्र्यबारे जानकारी हुने भएकाले संघीय सरकार र प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न पनि स्थानीयतहमा सही तथ्यांक र उपयुक्त योजना हुनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कसले कुन काम गर्ने भनेर स्पष्ट योजनाको वर्गीकरण गर्नुपर्ने बताउँदै तल्ला तहमा अनुदान बढाउन केन्द्र सरकार समक्ष गरे ।

बैठकको अध्यक्षता गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले अबको २५ वर्षमा संसारका विकसित देशहरुको दाँजोमा पुग्न मुलुकले अबको प्रष्ट मार्गचित्र निर्माण गर्नुपर्छ भनेर दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना प्रारम्भिक खाका प्रस्तुत गर्दै जनताका नजिकका सरकार स्थानीय तहबाट सुझाब लिन बैठकको आयोजना गरिएको बताए ।

कार्यक्रममा सरकारका मन्त्री, सचिव लगायतका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, नगरपालिकाप्रमुख, उप–प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ५० जनाको सहभागिता छ । शनिबारसम्म चल्ने बैठकको दोस्रो दिन शनिबार सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, गैर सरकारी संस्था, सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाजका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । नेपालमा प्रथम आवधिक योजना वि.सं. २०१३ बाट सुरु भएको थियो । ६२ वर्षको कालखण्डमा चौधौं योजना तर्जुमाभई समाप्तिको संघारमा छ ।

You might also like

Comments are closed.