स्मार्ट टाउनको कानुनी सचेतना कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपालको संयुक्त आयोजनामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य व्यवसायी र क्लबमा आबद्ध महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कबिता श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका कोचिफ एडभाइजर राजेन्द्रकुमार बाटाजुले कानुनका बारेमा सम्पूर्ण व्यक्तिहरुले जानकारी लिनुपर्ने बताए । ‘महिलाहरुलाई लक्षित गरी कानुनी सचेतना कार्यक्रम आयोजना गर्नु राम्रो कार्य हो,’ उनले भने ।

अधिवक्ता तथा सहजकर्ता दुर्गा भण्डारीले महिला अधिकार र कानुनी प्रक्रियाबारे जानकारी दिइन् । उनले कानुनी ज्ञान अहिलेको आवश्यकता भएकाले नयाँ कानुनी व्यवस्थाबारे सचेत हुन आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष सुमन गुरुङले व्यवसायीलाई कानुनी प्रावधान सम्बन्धी जानकारीमूलक कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तर दिने बताइन् ।

क्लबका अध्यक्ष कबिता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी), स्मार्ट टाउनका प्रथम उपाध्यक्ष लक्ष्मी शर्मा, द्वितीय उपाध्यक्ष निलम कर्मचार्य, सचिव पवित्रा शर्मा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका सचिव मनु राई, कार्यक्रम संयोजक प्रेरणा अधिकारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.