स्वतन्त्र पोखरेली युवाद्वारा पोखरामा प्रदर्शन, प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएपछि प्रहरी हस्तक्षेप

 

पोखरा ।

स्वतन्त्र पोखरेली युवाहरुले पोखरामा विहीबार प्रदर्शन गरेका छन् । संविधानको धारा ३५ अनुसार स्वास्थ्य अधिकारको ग्यारेन्टी गर्न माग गर्दै उनीहरुले पोखराको राष्ट्रवैंकचोकदेखि सहीदचोकसम्मको दुरीमा पूर्वाह्न ११ बजेदेखि मध्याह्न १२ बजेसम्म १ घण्टा शान्तिपूर्ण रुपमा मौन प्रदर्शन गरेका हुन् । कार्यक्रममा सहभागिहरुले क्वारेन्टिन ब्यबस्थित बनाऊ, अब्यबस्थित क्वारेन्टिन बन्द गर, कोरोना परिक्षणमा शत प्रतिशत पिसीआर गर, आरडिटी बन्द गर, जनता करको मारमा, सरकार करोडौंको कारमा, सरकारसँग थियो अलिकति आश, क्वारेन्टिनमा कुर्दाकुर्दा गयो सास, कर केका लागि ? गरिखाने वातावरण बनाऊलगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोभिड–१९ ग्रुपमा भएका पोखरेली युवाहरुले स्वतःस्फूर्त रुपमा प्रदर्शन गरेको आयोजक मध्येकी एक सलिजा श्रेष्ठले जानकारी दिइन् । काठमाडौंमा भएको प्रदर्शनबाट आफूहरु प्रभावित भएर स्वतन्त्र रुपमा कुनैपनि दल, एनजिओ तथा आइएनजिओमा नरहेका मिलेर कार्यक्रम गरेको उनले प्रष्ट्याइन् ।

यसैबीच, शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा केहि युवाहरुले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् । एक घण्टे प्रदर्शन सकिएलगत्तै नाराबाजीमा उत्रिएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामासमेत मागे । नाराबाजीका क्रममा युवाहरुले ‘केपी बाको पाराले, दुःख पाए साराले’, केपी ओली राजिनामा दे, सरिता गिरी मुर्दावाद भन्दै नारासमेत लगाए । शान्तिपूर्ण तथा मौन प्रदर्शन भनिएपनि एक्कासी प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शन हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । जसका कारण केहिबेर प्रहरी र युवाबीच सामान्य झडपसमेत भएको थियो । झडपका क्रममा प्रहरीले नाराबाजीको नेतृत्व गरेका एक युवालाई पक्राउ गरेको छ ।

नाराबाजी र झडपमा आफूहरुको संलग्नता नरहेको आयोजकले जनाएको छ । आफूहरुको योजना र नीति विपरित नाराबाजी भएको बताउँदै यसमा कुनै राजनीति दलका युवाहरुको घुसपैठ भएको हुनसक्ने आयोजक मध्येकी एक सलिजा श्रेष्ठले बताइन् । हामीले नितान्त शान्तिपूर्ण र मौन प्रदर्शन गरेका हौं,‘उनले भनिन्,‘यसको जिम्मा हामी लिन सक्दैनौं ।’ उनले आफूहरुको एजेण्डा नितान्त स्वास्थ्य सेवा सरल, सहज, भरपर्दो र गुणस्तरिय हुनुपर्ने मात्र भएको स्पष्ट पारिन् ।

You might also like

Comments are closed.