स्वर्गीय गौचनको स्मृतिसभा सम्पन्न, विभिन्न व्यक्तिलाई सम्मान

मुस्ताङ, २ वैशाख ।

श्री ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको आयोजनामा स्वर्गीय ओम विकास गौचन तथा देउकुमारी गौचनको १३औं स्मृति सभा शनिबार सम्पन्न भएको छ । गौचन सरल स्वभावका, शिक्षाप्रेमी, विकासप्रेमी र इमान्दार रहेको र उनका पाइला अनुशरण गरेमा उनी प्रति सच्चा सम्मान हुनेमा वक्ताहरुले जोड दिएका थिए । गौचनको सम्मानका लागि मुस्ताङको समग्र विकासमा सबै मिलेर लाग्नुपर्ने उनीहरुको भनाई छ । गौचन पुर्व सांसद समेत हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले स्वर्गीय गौचन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गौचनले गरेका कामलाई सम्झिएका थिए । सरल तथा मीलनसार स्वभावका गौचनले शिक्षा तथा विकास निर्माणमा पु¥याएको योगदान अविष्मरणीय रहेको उनले बताए । मुस्ताङ जिल्लाको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि उनले सोही कार्यक्रममा व्यक्त गरेका छन् ।

 


कार्यक्रममा वोल्दै प्रतिष्ठानका अध्यक्ष सवि गौचन शेरचनले मुस्ताङ जिल्लाकै अभिभावका रुपमा रहेका गौचनलाई गुमाउनु पर्दा धेरै पीडा भएको बताइन् । प्रतिष्ठानले गौचनका सपना सकार पार्ने तथा विकास निर्माणका काममा अग्रसर भएर लाग्ने उनको भनाइ छ । मुस्ताङ जिल्लको शिक्षा, स्वास्थ्य, पर्यटन तथा आइटीका क्षेत्रमा काम गर्ने उनले बताइन् ।

स्मृति सभामा विद्यार्थी, ज्येष्ठ नागरिक र महिला उद्यमीलाई सम्मान पनि गरिएको थियो । २०७४ सालको एसईई परीक्षामा मुस्ताङ जिल्लामा उत्कृष्ट हुन सफल ३ विद्यार्थीलाई जनही नगद १० हजार रुपैयाँ सहित प्रसंसापत्रले सम्मान गरिएको हो । सम्मानित हुनेमा निकिता हिराचन, तेन्जिङ न्हर्वु र मन प्रसाद वि.क रहेका छन् । मुस्ताङ जिल्लाका सफल महिला उद्यमी निर्मला भट्टचनलाई पनि सम्मान गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ मा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेन्द्र थकाली, संविधान सभाका पुर्व सभासद चन्द्र बहादुर गुरुङ, घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकाली, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, थासाङ गाउँपालिका २ का नरप्रसाद हिराचन, जनआर्दश मा.वि का पूर्व शिक्षक चुडामणि शर्मा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.