स्वर्ण पदक विजेता महर्जनलाई पोखरा महोत्सवमा सम्मान

पोखरा ५ माघ ।
शारीरिक सुगठन तथा फिजिक स्र्पोटस च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई पोखरा महोत्सवमा सम्मान गरिएको छ । हालै थाइल्याण्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियन सीपमा स्वर्ण पदक ल्याइ नेपाललाई विश्व सामु चिनाउन सफल महर्जनलाई महोत्सव आयोजक युनाइटेड क्लवले नगद सहित सम्मान गरेको हो ।

स्थापना कालदेखी पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको युनाइटेड क्लवले महर्जनले शारीरिक सुगठन खेल मार्फत विश्व सामु चिनाउन सफल भएको भन्दै क्लवले सम्मान गरेको क्लवका खेलकुद ब्यवस्थापन उपसमिती संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

सो अवसरमा बोल्दै महर्जनले  आफु विश्व सामु चिनिन् सफल हुनुमा विभिन्न व्यक्ती संघसंस्था र क्लवहरुको विशेष भुमिका रहेको बताए । युनाइटेड क्लवको सम्मानले आफुलाई थप उर्जा मिलेको वताउदै आफुले शारीरिक सुगठन प्रतियोगिताबाटै नेपाल आमा र नेपाली भुमिलाई विश्वसामु चिनाएरै छाड्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, महासचिव शान्त बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, सह कोषाध्यक्ष निर्मला लामिछाने, पूर्ण श्रेष्ठ, जयराम आचार्य, विष्णु कुमार गुरुङ, लगायतका पदाधिकारीहरुले नगद १० हजार, सम्मान पत्र र खादाले सम्मान गरेका थिए ।

यसैविच पोखरा महोत्सव नवौ दिन सम्म आइपुग्दा दर्शकको उपस्थिती बाक्लो बन्दै गइरहेको छ । महोत्सवको अन्तिम शनिवार महोत्सवमा दर्शकको बाक्लो उपस्थिती रहेको र महोत्सवमा समेत कारोवारमा समेत उल्लेख्य मात्रामा बृद्धि भइरहेको महोत्सवका प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा राखिएको चिडियाखानाको स्याण्ड मोडेल, सर्प संरक्षण सम्बन्धी जानकारी दिने स्टल र होम स्टेको स्टलले समेत दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको युनाइटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।

महोत्सवमा शनिवार राजन गुरुङको दोहोरी प्रस्तुतीमा दर्शकहरु झुमेर नाचे । गुरुङले उहीखोलीमा पानी भन्ने गीत गाउदा महोत्सवमा उपस्थित दर्शकहरु नाचेर मनोरन्जन लिएका थिए । राजन संगै सुरेन्द्र गुरुङ, जीवन दाहाल, तारापति सुवेदी, राजन कार्की, शिवहरी ढुंगाना, इन्द्रा गुरुङ, माया गुरुङको दोहोरी प्रस्तुती रहेको थियो भने सांस्कृतीक कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको नृत्य र ज्यामिरे आमा बावु समुह स्याङजाको सती घाटु र झोरा नृत्यले दर्शकको ध्यान केन्द्रित गरेको थियो । सांझ भिटेनको प्रस्तुतीमा युवायुवतीहरुले भरपुर मनोरन्जन लिएका थिए ।
त्यसैगरी शनिवार गण्डकी प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगितामा गण्डकी प्रदेश र पर्वत बीचको प्रतिस्पर्धामा गण्डकी प्रदेश पर्वतलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

You might also like

Comments are closed.