पोखरा, ५ जेठ
सन्तुलित भोजन, व्यवस्थित जीवनशैलीसँगै स्वस्थ हुन रोग लागेको आशंका भएमा र स्वस्थ भए पनि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्यबारे जनचेतना र सेवा, सुविधा जनस्तरसम्म फैलिँदै गए पनि रोगको मुख्य कारण लापरवाही र अव्यवस्थित जीवनशैली भएको वक्ताहरुको जोड थियो ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइ समितिले शनिबार आयोजना गरेको मधुमेह तथा रगतम हुने खराब बोसोसम्बन्धी निशुल्क रक्त परीक्षणका वक्ताहरुले यस्तो बताएका हुन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मधुमेह, खराब बोसो, उच्च रक्तचाप, थाइराइड जस्ता बढी देखिने रोगबाट जोगिन सहभागीलाई आग्रह गरे ।
उनले व्यस्त जीवनशैली, तनावपूर्ण दैनिकी, स्वास्थ्यसम्बन्धी साना समस्या हुँदा लापरवाही, खानपानमा हेलचेक्र्याई जस्ता कारणले नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको उल्लेख गरे । उनले भने, ‘पहिले अधवैसेहरुलाई देखिने मुटुका समस्या अहिले किशोरकिशोरीलाई नै देखिन थालेको छ ।’ उनले रोगलाग्नुभन्दा पहिला नै समय समयमा परीक्षण गरी पूर्व सावधानी अपनाउन र लागिसकेको भए उचित उपचार गरी रोगलाई नियन्त्रण राख्न वा निर्मुल गर्न आग्रह गरे ।
पोखरा, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्राविधिक सहयोग गरेको शिविरमा ३ सय ४२ जनाको सित्तैमा परीक्षण गरिएको छ । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हालसम्म संस्थाले गरेका ५१ शिविरमा ३० हजार भन्दा बढीलाई निःशुल्क सेवा दिइसकेको जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट धेरै नेपाली अझै टाढा रहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गरी उनीहरुलाई सेवा दिन सबै स्वास्थ्य संस्था लाग्नुपर्ने उनको भनाइ छ ।
संघका अध्यक्ष दीपेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव वोधराज ढकालले गरेका थिए ।
Comments are closed.