‘स्वास्थ्य उपकरण अभावबीच निजी अस्पतालबाट नियमित सेवा’

पोखरा । कोरोना संक्रमण जोखिमसँगै निजी अस्पतालबाट प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध नभएको गुनासोलाई निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी प्रदेशले खण्डन गरेको छ । स्वास्थ्य उपकरणको अभावका बीच पनि निजी अस्पतालबाट नियमित स्वास्थ्य सेवा उपलब्ध रहेको अफिनका गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले बताए ।

बजारमा पिपिई, डिजिटल थर्मोमिटर गन र एन ९५ माक्सको अभाव भएको उनले बताए । ‘पिपिई लगायत अत्यावश्यक स्वास्थ्य उपकरण हामीले सित्तैमा मागेका छैनौं,’ उनले भने, ‘किन्छौं भन्दा पनि पाइएको छैन । उपकरण अभावबीच निजी अस्पतालबाट नियमित स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ ।’

चैत २६ देखि वैशाख १ गतेसम्म पोखरा क्षेत्रका निजी अस्पतालबाट फिभर क्लिनिकमा ४ सय ७० जनाले, इमर्जेन्सीमा १ हजार ७ सय ८० जनाले सेवा लिइसकेको पालिखेले जानकारी दिए । ‘एम्बुलेन्स सेवा ६ सय ३३ पटक प्रदान भइसकेको छ,’ उनले भने ।

न्युरो, महिला तथा स्त्री, मेडिकल, बच्चा, क्यान्सर, आइसियु, एनआइसियु, क्याबिन लगायतको सेवा लकडाउन सुरु भएदेखि नै नियमित सञ्चालनमा रहेको पालिखेले जानकारी दिए । ‘आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिरहेका छन्,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा समेत सेवा प्रदान गर्ने निजी अस्पतालहरुलाई विना कारण आरोप लगाउनु निन्दनीय छ ।’

You might also like

Comments are closed.