स्वास्थ्य शिविर सम्पन्न, २ सयको मधुमेह र टिजी जाँच

पोखरा, २९ वैशाख
शुभम् बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, न्युरोडको कार्यालय परिसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सहकारीले आफ्नो छैठौ वार्षिकोत्सवको अवसरमा गरेको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)सम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रममा २ सय ५ जनाको रक्त परीक्षण गरिएको छ ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. विश्व बरालले मधुमेह र रगतमा हुने खराब बोसोबाट पर्न सक्ने असर, यी रोग लाग्नुअगावै अपनाउनुपर्ने सावधानी र रोग लागिसकेपछि गर्नुपर्ने उपचार पद्धतिबारे जानकारी दिए । उनले अधिकांश रोग लापरवाहीपूर्ण जीवनशैली, खानपान र अस्वस्थकर बानीकाका कारण लाग्ने भएकाले आफ्नो स्वास्थ्यबारे सजग भए धेरै हदसम्म रोगको चपेटाबाट मुक्ति मिल्ने बताए । उनले समय समयमा नियमित स्वास्थ्य परीक्षण, स्क्रिनिङ टेस्ट र केही समस्या देखिए चिकित्सककहाँ जान आग्रह गरे ।

शिविरमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै आर्थिक लाभ भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखिएको बताए । उनले आगामी आर्थिक वर्षमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा थाइराइड परीक्षण निशुल्क गरिने जानकारी दिए ।

शुभम् सहकारीका प्रवन्धक ढाकाराम बरालले सहकारीले सेयर सदस्यहरुको हितमा विभिन्न क्रियाकलाप गरिरहेको बताए । २३ सय सेयर सदस्य रहेको सहकारीमा ४ करोड सेयर पुँजी छ ।

सहकारीका उपाध्यक्ष आशीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका लेखा समिति सदस्य तोयानाथ आचार्य, सल्लाहकार दिनवन्धु पौडेल, सेयर सदस्य कमल पौडेल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.