स्व.रुवीन्द्र अधिकारीको प्रथम स्मृति सभा मनाइने

पोखरा । स्वर्गीय अधिकारीको निधन भएको १ वर्ष पुगेको अवसरमा रुवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा सभागृहमा विशेष कार्यक्रम गर्ने भएको छ । अधिकारीको ‘प्रथम स्मृति सभा’ नाम दिइएको कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने मंगलबार प्रतिष्ठानद्वारा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो । अहिलेसम्मको तयारीमा प्रधानमन्त्री स्वयम् उपस्थित हुने कुरा छ,‘प्रतिष्ठानका महासचिव धनराज आचार्यले भने, ‘कथम्कदाचित स्वास्थ्यले साथ दिएन भनेचाहिं भिडियो कन्फरेन्समार्फत भएपनि प्रधानमन्त्रीले नै सम्बोधन गर्नुहुन्छ ।’ स्मृति सभालाई नेकपा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङ, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलगायतले सम्बोधन गर्ने उनले बताए ।

स्मृति सभाको दिन ख्यातीप्राप्त कलाकारहरुले ‘क्यानभासमा रुवीन्द्र अधिकारी’ नाम दिएर बनाएका पेन्टिङहरु पोखरा सभागृह परिसरमा राखेर प्रदर्शन गरिने प्रतिष्ठानले जनाएको छ । त्यसरी बनाइएका पेन्टिङहरु खरिद, बिक्रीसमेत गरिने महासचिव आचार्यले बताए । पेन्टिङ बिक्रीबाट प्राप्त रकम कोषमै राखिने उनले बताए ।

स्मृति सभाको दिन फागुन १५ गते विहान स्वर्गीय रुवीन्द्र अधिकारीको पूर्ण कदको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिकाले स्थापना गरेको सहीद पार्कमा राखिएको अधिकारीको पूर्ण कदको शालिकको अनावरण गरिने प्रतिष्ठानकी अध्यक्ष तथा अधिकारी पत्नी विद्या भट्टराईले बताइन् ।

स्मृति सभाको भोलिपल्ट फागुन १६ गते प्रतिष्ठानले ‘समाज रुपान्तरणमा रुवीन्द्र अधिकारी’ विषयक अन्र्तक्रियासमेत गरिने प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

स्वर्गीय रुवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘छात्रवृत्ति कोष’पनि स्थापना गर्ने भएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रुवीन्द्र्र अधिकारीको निधन भएको दिन यहि फागुन १५ गते प्रतिष्ठानले ‘रुवीन्द्र अधिकारी छात्रवृत्ति कोष’ घोषणा गर्ने तयारी गरेको हो ।

अधिकारीको गत फागुन १५ गते ताप्लेजुङको पाथीभारा मन्दिर दर्शन गरेर फर्किने क्रममा घोप्टेभीरमा हेलिकोप्टरमा दुर्घटनामा परेर निधन भएको थियो । सोहि दिनको सम्झनामा प्रतिष्ठानले पोखरामा विशेष कार्यक्रम गरेर छात्रवृत्ति कोष घोषणा गर्ने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष तथा अधिकारी पत्नी सांसद विद्या भट्टराईले बताइन् । तत्काल बिउ रकम राखेर १ करोडको कोष घोषणा गर्न लागिएको उनले बताइन् । कोषबाट प्राप्त ब्याजले हरेक वर्ष स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने सर्बोत्कृष्ट, गरीब, जेहेन्दारलगायतका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.