हङकङमा कार्यरत नेपालीले गरे गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग

 

पोखरा ।

हङकङमा कार्यरत नेपालीहरुले गण्डकी प्रदेश सरकारलाई १३ लाख ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना संक्रमणसँग जुध्न सहयोग पु¥याउने उद्देश्यले कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङको पहलमा २५० थान ज्वरो नाप्ने उपकरण,६ हजार थान सर्जिकल मास्क,५ हजार थान पञ्जा र १५० थान पीपीई सेट गण्डकी सरकारलाई दिइएको हो ।

सोमबार आयोजित कार्यक्रममा सहयोग समितिका तर्फबाट संयोजक विरोधविक्रम गुरुङ, शशी गुरुङ, अमृत गुरुङ र चन्द्र गुरुङले ती सामानहरु गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बालाई हस्तान्तरण गरे । समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष विरोधविक्रमका अनुसार हङकङमा बस्ने नेपालीहरुबाट संकलित रकमबाट ती सामग्री खरिद गरिएको हो ।

सहयोग स्वीकार्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका क्वारेण्टिनहरु खाली हुँदै गए पनि विदेशबाट आउने उपक्रम नरोकिएको र असावधानीका कारण संक्रमण नरोकिएको बताए । उनका अनुसार गण्डकीमा भारतबाट नागरिक आउने क्रम घटे पनि तेस्रो मुलुकबाट आउने क्रम भने जारी छ । तेस्रो मुलुकबाट आएकाहरुमा संक्रमण दर बढी भएको उनले बताए । उनका अनुसार पहिला विदेशबाट आउनेहरुलाई नेपाली सेनाले प्रदेशको होल्डिङ सेण्टरसम्म ल्याउँथ्यो भने अहिले आफ्नै सुरमा आउन थालेपछि व्यक्तिको पहिचानमा समस्या देखिएको छ । उनले गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको जिकिर पनि गरे ।

‘हामीले आफैलाई नम्बर एक भन्न त नमिल्ला तर अन्य प्रदेशको भन्दा हामीले राम्रो ग¥यौंँ भन्ने लाग्छ’, उनले भने,‘यहाँ कोरानाका गम्भीर बिरामी छैनन्, जसको मृत्यु भयो, उनीहरुमा पनि अर्कै रोगको समस्या देखियो ।’उनले प्रदेश सरकारले परीक्षणको दर बढाएको जिकिर पनि गरे । प्रदेश स्वास्थ्य निर्देशनालयको पीसीआर मेसिनमा समस्या आउँदा र पालिकाहरुले आफै किट किनेर स्वाब पठाएको बेला परीक्षणमा समस्या देखिए पनि अहिले कुनै समस्या नभएको उनको भनाई थियो । सोही कार्यक्रममा लमजुङको क्होंलासोथर गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री दिइयो । हङकङमा बस्दै आएका दीलिप गुरुङले आफ्नो व्यक्तिगत खर्चमा गाउँपालिकालाई स्वास्थ्य सामग्री दिएका हुन् ।

You might also like

Comments are closed.