हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह

सुरेन्द्र पौडेल
पोखरा, १९ पुस । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले शेयर लगानीकर्ता र ब्रोकर कम्पनीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नयाँ सरकार आएपछि शेयरबजार ध्वस्त हुन्छ भनेर चलाइएको हल्ला निराधार भएकोे उनले बताए । ‘एकथरीले फाइदा लिनका लागि पुँजीबजार ध्वस्त हुन्छ भनेर हल्ला चलाएका छन्,’ उनले भने, ‘जुन सरकार आएपनि पुँजीबजार सुधार भएर जान्छ ।’

बिगतमा विभिन्न पार्टीका सरकार सञ्चालन क्रममा पुँजीबजारमा सुधार आएको स्मरण गर्दै उनले नयाँ सरकार आएपछि पनि पुँजीबजार अझ राम्रो हुने बताए । एनआइबिएल क्यापिटल र एनआइबिल बैंक पोखराले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले केही कारणले बजार घटेपनि हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताए ।

लगानीकर्ता र ब्रोकर कम्पनी कारोबारमा जहिले पनि इमान्दार हुनुपर्ने उनको भनाइ छ । गत वर्ष नेपालको पुँजीबजारबाट मात्र २ अर्ब १० करोड रुपैयाँ राजश्वमा योगदान पुगेको बताउँदै उनले अर्थतन्त्रमा पुँजीबजारको योगदान महत्वपूर्ण रहेको टिप्पणी गरे । ‘बामे सर्न लागेको पुँजीबजारमा धेरै ट्याक्स थुपार्ने काम मात्र गर्नुहुँदैन,’ उनले भने ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपालको पुँजी बृद्धिका लागि विदेशी बैंकहरुलाई नेपालमा लगानीको वातावरण बनाउनुपर्ने धारणा राखे । ‘विदेशी बैंकहरु सहज रुपमा नेपालमा आएर सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

शेयर लगानीकर्ता कृष्णप्रसाद श्रेष्ठले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई विभिन्न वहानामा दुःख दिने काम गरिरहेको बताउँदै सहज रुपमा लगानीको वातावरण बनाउन आग्रह गरे । अर्का लगानी कर्ता शान्ति कँडेलले क्यापिटल मार्केटलाई राजधानीमा मात्र केन्द्रित नगरी विकेन्द्रीकरण गर्नुपर्ने बताइन् । कार्यक्रममा बैंकर, शेयर लगानीकर्ता, ब्रोकर कम्पनीका प्रतिनिधि लगायत सहभागी रहेको एनआइबिल बैंक पोखरा शाखा प्रमुख धिरज थापाले जानकारी दिए ।

You might also like

Comments are closed.