हस्पिटलको सेवा अब घरमै, मेडिलिङक होम केयरको सेवा पोखरामा शुरु

 

सन्देश श्रेष्ठ
पोखरा, ६ मंसीर

पोखरेलीले अब हस्पिटलको सेवा घरमै पाउने भएका छन् । ललितपुरको मेडिलिंक होम केयर प्रालिले पोखरेलीको घर÷घरमै पुगेर हस्पिटलको सेवा दिने भएको हो । प्रालिले पोखराको गैह्रापाटनमा शाखा कार्यालय राखेर सेवा शुरु गरेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रालिका अनुसार घर÷घरमा पुगेर दिइने सेवा विशेषज्ञसहितको हुनेछ । त्यसका लागि विरामी वा विरामीका आफन्तले फोन गरेर सेवाका लागि माग गर्नुपर्नेछ । होम केयरका संचालक उत्तम खतिवडाले सेवाका लागि फोन गरेको केहि समयमै विशेषज्ञसहितको टोली विरामीको घरमा पुगेर सेवा दिने बताए । टोलीमा सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकसहित नर्ससमेत हुने उनले जानकारी दिए । उनले पोखरेलीको आवश्यक्तालाई महशुस गरेर सेवा शुरु गरेको जानकारी दिए । सेवाका लागि प्रालिले पोखराका विभिन्न ६ वटा हस्पिटलसँग सहकार्य गरेको उनले बताए ।

घरमै सेवा लिने सेवाग्राहीले सेवा वापत हस्पिटललाई १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने सञ्चालक खतिवडाले जानकारी दिए । नर्सका लागि भने सेवाग्राहीले छुट्टै शुल्क तिर्नुपर्ने उनले बताए । उनका अनुसार नर्सले ६ घण्टा सेवा दिए वापत ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

प्रालिले प्रारम्भिक चरणमा ७० जनाको स्वास्थ्य टोली तयारी अवस्थामा राखेर सेवा शुरु गरेको जनाएको छ ।

प्रालिले चौविसै घण्टा उपचार गर्नुका साथै विरामीको हेरचाहसमेत गर्नेछ । विरामीलाई थप सेवा आवश्यक परेमा हस्पिटल पनि लैजाने काम गर्ने खतिवडाले बताए । त्यसका साथै प्रालिले मेडिकल सामग्रीको बिक्री तथा भाडामा प्रयोग गर्न दिने, प्रयोगशाला सम्बन्धी सेवा, फिजियोथेरापी सेवा, विरामीको कुरुवा बसिदिनेलगायतका सेवा पनि दिनेछ ।

मानिसको ब्यस्ततालाई ध्यानमा राखेर घरमै स्वास्थ्य सेवा दिनका लागि सेवा शुरु गरिएको डा. सन्तोष ढकालले बताए । मणिपाल शिक्षण अस्पतालका डाक्टर ढकालले पूर्वाह्न ९ बजेदेखी ४ बजेसम्म अस्पतालमा ड्यूटी गर्ने र त्यो बाहेक आफूले घरमै पुगेर होम केयर सेवा दिने बताए ।

होम केयर पोखरा शाखाका म्यानेजर विवेक थापाले एम्बुलेन्स, अक्सिजन लगायतका अत्यावस्यक सेवापनि दिने तयारी गरिएको जानकारी दिए ।

You might also like

Comments are closed.