पोखरा, १३ माघ ।
तेस्रो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरा अडिसन मंगलबार हुने भएको छ । अडिसन लेकसाइड स्थित होटल माउन्टेन टपमा रहेको अल्टिच्यूड रेस्टुरेन्टमा हुने आयोजकले जानकारी दिए । ‘पोखरालाई केन्द्र बनाएर हामीले यो कार्यक्रम गरिरहेका छौँ , त्यसैले यहाँको अडिसन अन्य शहरको तुलनामा भव्य हुनेछ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।
देशव्यापी आवेदन आह्वान गरेको यो कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन् । अडिसनमार्फत छनौट भएका प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले एक महिने बन्द प्रशिक्षण दिने संस्थाका निर्देशक उज्जवल बस्नेतले बताए । विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट २५ जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने बताईएको छ । यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यो इभेन्टको मूख्य प्रायोजकको रुपमा लाली चाउचाउले कम्पनीसँग सहकार्य गरिसकेको छ । यस्तै इभेन्टमा हस्पिटालिटी पार्टनरमा होटल माउन्टेन टप, रेस्टुरेन्ट पार्टनरमा ब्यञ्जन रेस्टुरेन्ट, होटल पार्टनरमा होटल ड्यान्डिलियन र इन एशोसियसन टाइटलमा होटल क्राउन प्लाजाले सहकार्य गरेका छन् ।
सो दिन विहान १० बजेदेखि शुरु हुने अडिसन दिउँसो ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ । यस अघि आयोजक कम्पनीले काठमाण्डौ, चितवन र बुटवलमा कलेज क्याम्पेनसँगै अडिसन पनि गरेर फर्किसकेको छ ।
Comments are closed.