हामी निर्वाचित भएपछि लेकसाईड चौविसै घण्टा खुलाउँछौं : समावेशी व्यवसायी समूह

 

पोखरा, २ असोज

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व लिन अघि सरेको समावेशी व्यवसायी समूहले आर्थिक क्रान्तिका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएको छ । मंगलबार पर्यटकीय केन्द्र लेकसाईडका व्यवसायीहरुको भेटमा सो समूहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्न आर्थिक क्रान्ति गर्न आवश्यक रहेको औंल्याउँदै त्यसका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएको हो । संघमा आबद्ध प्रत्येक उद्योगी÷व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएर घरदैलो गरिरहेको दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहले साहसीक खेलकुदलाई प्राथमिकतामा राखेर त्यसको ब्यबस्थापन गर्न जरुरी रहेको र त्यसका लागि आफ्नो समूह लागि पर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

मंगलबार लेकसाइडको वाराहीचोकबाट शुरु भएको घरदैलो फिस्टेलगेट, जरेवर, हल्लनचोक लगायतका क्षेत्रमा पुगेर टुंगिएको थियो । घरदैलोका क्रममा उद्योगी÷ब्यबसायीहरुसँग बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले पर्यटन क्षेत्रमा शान्ति, सुरक्षा र पूर्वाधार निर्माणका लागि आफ्नो समूहले नेतृत्व लिने बताए । उनले भने,‘पर्यटकीय क्षेत्र शान्त हुनुपर्छ, अनि सुरक्षाको ज्ञारेन्टी गर्नुपर्छ, साथै आगामी सन २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने गण्डकी प्रदेश सरकारको योजना पूरा गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्छ, यसका लागि हाम्रो समूहले नेतृत्वदायी भूमिका खेल्छ ।’

अध्यक्षका उम्मेद्वार अधिकारीले आफ्नो समूह बिजयी भएमा पर्यटकीय क्षेत्र लेकसाईड चौविसै घण्टा खुलाउने प्रतिबद्धता जनाए । राती आएका पर्यटक अलपत्र पर्ने अवस्था रहेको बताउँदै उनले भने,‘पर्यटक मध्यरातमा आएपनि बस्न÷खान पाउनुपर्छ, त्यसो भयो भनेमात्र पर्यटक आउँछन्, त्यसैले लेकसाईडसहित पर्यटकीय क्षेत्र चौविसै घण्टा खुल्नुपर्छ, हामी निर्वाचित भएलगत्तै यसको प्रक्रिया अगाडि बढाउँछौं ।’ चौविसै घण्टा खोल्ने भन्ने वित्तिकै नसुती काम गर्नु नपर्ने बताउँदै उनले भने,‘अहिले राती ११ नबज्दै बन्द गर भन्दै प्रहरी आउँछ, तर हामी निर्वाचित भएपछि खोल्न चाहने व्यवसायीलाई चौविसै घण्टा खोल्ने वातावरण बनाउँछौं ।’ तर रात्रीकालिन व्यवसाय गर्नेले अन्यलाई असर पर्ने खालका गतिविधी गर्न नदिई शान्त र सुरक्षित बनाईने उनले प्रष्ट पारे ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार यदुनाथ अधिकारीले लेकसाइडमा पार्किङको समस्या भएको बताउँदै अब बैकल्पिक पार्किङ क्षेत्र बनाएर यसको समाधान गर्ने योजना सुनाए ।

उद्योगतर्फको उपाध्यक्षकी उम्मेद्वार गीता तिवारी गौतमले पर्यटनमा महिला उद्यमी बढाउन आफू निर्वाचित भएपछि योजनाबद्ध तरिकाले काम गर्ने बताईन् ।

वाणिज्यतर्फका उपाध्यक्षका उम्मेद्वार यमनाथ पौडेलले पर्यटन क्षेत्रमा पनि घरभाडाका विषयमा बेलाबेला किचलो हुनेगरेको भन्दै सो समस्या समाधानका लागि कार्यविधी बनाउने बताए ।

महासचिवका उम्मेद्वार किसान सुनारले पोखरालाई साहसीक खेलकुदको हब बनाउने बताए । प्याराग्लाईडिङले एसियाली खेलकुद प्रतियोगितामा पदक जिताएर देशकै नाम चम्काएको भन्दै अब यसलाई ब्यबस्थित बनाएर यसप्रति सबैको चासो बढाउन आफूहरुले काम गर्ने उनले बताए । उनले प्याराग्लाईडिङलाई पोखराबाट सार्न नहुने भन्दै बरु यसको ब्यबस्थापनमा सरकार लाग्नुपर्ने भनाई राखे ।

कोषाध्यक्षका उम्मेद्वार प्रेमबहादुर भुजेलले फेवाताल बचेमात्र पर्यटन बच्ने भन्दै फेवाताल बचाउनका लागि नीजि क्षेत्रको अगुवाईमा चेक ड्याम निर्माणदेखी फेवातालको सौन्दर्यता थप्ने काम गर्ने बताए ।

उपमहासचिवकी उम्मेद्वार सीता बरालले पर्यटनमा नयाँ प्रोडक्ट थप्नको लागि समावेशी व्यवसायी समूहले अध्ययन गरेर सरकारसामु प्रस्ताव लैजाने बताईन् ।

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

बहुमत कार्यसमिति दामु प्यानलको पक्षमा

पोखरा उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको करीब दुई तिहाई सदस्य दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहको पक्षमा उभिएको छ । वर्तमान २९ सदस्यीय कार्यसमितिका १८ जना दामु प्यानलको पक्षमा उभिएका हुन् । वर्तमान कार्य समितिका महासचिव दामु अधिकारी, यदुनाथ अधिकारी, गीता कुमारी गौतम, यमनाथ पौडेल, किसान सुनार, प्रेमबहादुर भुजेल, सीता बराल, नारायणप्रसाद पौडेल, देवबहादुर भुजेल, गोमा ढकाल, चन्दकिशोर गौतम, देवकृष्ण काफ्ले, कमलबहादुर बस्नेत, हिरामणी पण्डितसहित १८ जनाले प्रतिबद्धता पत्रमा हस्ताक्षर नै गरेको वाणिज्यतर्फका उपाध्यक्षका उम्मेद्वार यमनाथ पौडेलले बताए । दामु प्यानलको पक्षमा उभिने पदाधिकारीसहित अन्य सदस्य भएपनि अर्को पक्षले उनीहरुलाई दवाब दिन सक्ने भएकाले उनीहरुको नाम गोप्य राखिएको उनले स्पष्ट पारे ।

जनमोर्चा निकटका व्यवसायी पनि दामु प्यानलकै पक्षमा

जनमोर्चा निकटका उद्योगी÷व्यवसायी पनि समावेशी व्यवसायी समूहको पक्षमा उभिएको छ । जनमोर्चा निकट अखिल नेपाल उद्योग व्यापार संघ कास्कीको मंगलबारको बैठकले दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको हो । समावेशी व्यवसायी समूहले अघि सारेको एजेण्डा प्रगतिशिल हुनुका साथै टीम पनि समावेशी भएकाले सघाउने निर्णय भएको संघ कास्कीका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.