हिंसा अन्त्यका लागि सचेतना

पोखरा, २३ मंसिर ।

समाजमा हुने विभिन्न प्रकारका हिंसा अन्त्यका लागि राज्यस्तरबाट स्वरोजगार र रोजगारमूलक कार्यक्रमहरु ल्याई आर्थिक रुपले सशक्त बनाइनुपर्ने र नागरिकस्तरबाट सचेतनामूलक कार्यक्रमहरु संचालन गरी नागरिकको चेतनाको स्तरमा बृद्धि गरिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा संगम बचत तथा ऋण सहकारी संस्थाको आयोजना र एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गरिबी, परनिर्भरता र अन्धविश्वासमा चलेका परम्परागत रीतिरिवाजका कारण बढी हिंसा हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नितु गर्तौलाले हिंसा अन्त्यका लागि समाजलाई समतामूलक ढंगले अगाडि बढाउनुपर्ने र यसका लागि महिलाहरुको आर्थिक सशक्तिकरणलाई जोड दिंदै परनिर्भरतामा कमी ल्याउनुपर्ने बताइन् ।

शान्तिका लागि नगारिक समाज सञ्जाल कास्कीका संयोजक विष्णु प्रसाद बरालले सहकारीको माध्यमबाट सदस्यहरुलाई उन्नति, प्रगति गराइ जीवनलाई सकारात्मक परिवर्तन गर्न सकेमा समाजमा हिंसा आफै कम हुँदै जाने बताए ।

महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका संयोजक अधिवक्ता जानकी शर्माले कानुन बनाउनु मात्रै नभएर कानुनको कार्यान्वयन पनि राज्यकै दायित्व भएको बताइन् ।

इन्सेक, गण्डकी प्रदेश संयोजक शिव खकुरेलले यस प्रदेशमा मात्रै जनवरी २०१८ देखि हालसम्म राज्य पक्षबाट ७२ जना र गैर राज्य पक्षबाट ५ सय ४० जना पीडित भएको तथ्यांक इन्सेकले अभिलेख गरेको बताए । गैर राज्य पक्षबाट भएका घटनामा पीडित हुनेमा अधिकांश महिला भएको उनले बताए ।

एशिया मानव अधिकार कास्कीका अध्यक्ष तिलक थापाले भगवानलाई पुज्नु भन्दा पनि बुझ्नुपर्ने तर्फ लाग्न अनुरोध गर्दै सबै मानिसले असल कर्म गरी समुन्नत समाजको निर्माणमा जोड दिनुपर्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षता र धनराज पुरीको संचालनमा भएको कार्यक्रममा विष्णु कुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...