हिमालको चौँरी एक्स्पो पोखरामा

पोखरा, १६ मंसिर ।

चौँरी हिमाली क्षेत्रमा पाइन्छ । हिमालतिर नउक्लेकाहरुले चौँरी देख्ने कुरै भएन । तर, अवसर न हो ! हिमाली क्षेत्रमा पाइने चौँरी यतिबेला पोखरा झरेको छ । माथि जाडो भएर हैन, पोखराको नयाँबजारमा जारी ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चाँरी पोखरा झारिएको हो ।

‘हामीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुपमा आयोजना गरिएको एक्स्पोमा नयाँपन दिन चौँरी पनि पोखरा झारेका हौँ’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ हाम्रो मेलामा भोजपुरको खुकुरीदेखि, महेन्द्रनगरको सतिसालको ठेकी, पोखराकै हपर्न खोला क्षेत्रमा परम्परागत रुपले माछा मार्ने जलारीको कथा पनि हेर्न र बुझ्न सकिन्छ ।’ उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको मेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्योगिक, हस्तकला तथा अन्य उत्पादनहरुको प्रदर्शनी स्थल भएको दावी गरे । एक्स्पोमा हर्पन फेवा मत्स्य सहकारी संस्था खपौँदीले परम्परागत रुपले माछा मार्ने परम्पराको जानकारी दिने स्टल राखेको हो । स्टलमा ताल संरक्षणको आग्रहसहित हाते जाल, माछा राख्ने फुर्लुङ, जाल थाप्ने डुङ्गा,तियारी जाल पनि प्रदर्शनीमा राखिएका छन् ।

यता, मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल एक्स्पोको मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलले भ्रमण गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव ज्ञवाली, मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजयकुमार श्रेष्ठ तथा अधिकृत बिक्रेता संघ मकवानपुरका अध्यक्ष चक्रधर बिडारीसहितको टोलीले एक्सपोको अवलोकन गरेको हो । पाहुना टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिराज पन्तले एक्स्पोका विविध पक्षबारे जानकारी दिएका थिए । त्यसैगरी, मकवानपुरको टोलीले हेटौँडामा पनि आउँदो फागुनमा मेला आयोजना हुन लागेको जानकारी दिँदै सो मेलामा सहभागिताको लागि पोखराका उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे ।

संघका उप महासचिव चिनु गुरुङका अनुसार सहभागीहरुको सुभावलाई मनन गर्दै एक्सपोलाई भव्य र सभ्य बनाउन कुनै कसुर बाँकी राखिएको छैन । मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवार दुबै बढ्दै गएको उनले बताईन् ।

यता, एक्स्पोका साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार मंसिर १७ गते सोमबार पप गायक साहिमा श्रेष्ठ र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने लोकदोहरीतर्फ पुष्कल शर्मा,चोलेन्द्र पौडेल,जीवन दाहाल,घनश्याम रिजाल,कृष्ण गुरुङ,मञ्जु विक,सीता केसी,टेक क्षेत्री,अम्बर धिताल र सरला पाण्डेको प्रस्तुति रहनेछ । हाँस्य कलाकार दीनेश काफ्लेसहित लोकदोहोरी प्रतियोगिताअन्तर्गत हाम्रो दोहोरी साँझ पोखरा र तनहुँ लोकदोहोरी गीत प्रतिष्ठान एवं साइनो दोहोरी घर र लोकदोहोरी प्रतिष्ठान बाग्लुङबीच प्रतिष्पर्धा साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिए । रत्यौलीमा भने दिदी बहिनी आमा समूह आर्वाको प्रस्तुति रहनेछ ।

You might also like

Comments are closed.